भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा निर्माण भएका ठुला घरहरू गुणस्तरीय नभएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित घर निर्माण मेलामा उनले यस्तो बताएका हुन्।
मन्त्री दाहालले घर निर्माण गर्दा इन्जिनियरिङ र डिजाइनको पाटो महत्त्वपूर्ण हुने बताए। उनले थोरै नेपालीले मात्रै घर निर्माणमा इन्जिनियरसँग परामर्श लिने गरेको बताए। घर निर्माणमा उच्च गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्ने र यसका लागि आमसर्वसाधारणमा सचेतना जगाउनुपर्ने आवश्यक रहेको उनको भनाइ छ।
उनले भने, ‘काठमाडौँ वा देशका विभिन्न ठाउँमा बनेका ठुला–ठुला घरहरू पनि गुणस्तरीय बनिरहेका छैनन्। गुणस्तरीय बनाउनु पर्यो, सामग्रीहरू गुणस्तरीय हुनुपर्यो। बलिया हुनु पर्यो सामग्रीहरू। ती सामग्रीहरूका कारणले गर्दा भोलि घरमा ठुला घरहरू बनाउने तर बनाइसक्दा चुहिन थाल्ने खालको पनि मैले देखेको छु। त्यसले गर्दा त्यो इन्जिनियरिङको पाटो पनि महत्त्वपूर्ण छ।’
मन्त्री दाहालले नेपाल भूकम्पीय उच्च जोखिममा रहेकाले भूकम्प प्रतिरोधी आवास निर्माण गर्नुपर्नेमा जोड दिए। उनले घर निर्माण भइसकेपछि गुणस्तर मापनमा विशेष ध्यान दिनुपर्ने बताए।
Shares

प्रतिक्रिया