नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बढाउन विदेशी विद्यार्थी नेपाल पढ्न आउने वातावरण बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय, निजी तथा आवासीय विद्यालय एसोसिएसनको ८औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता महरले उक्त धारणा राखेका हुन्।
महरले सरकारलाई बजेटमा यथोचित व्यवस्था गरेर विदेशी विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्न सुझाव दिएका छन्।
उनले भने, 'यस प्रकारको छात्रवृत्तिले नेपालको अन्तर्राष्ट्रिष सम्म्बन्ध मजबुत बनाउनुका साथै शिक्षा प्रणालीमा विश्वासनीयता समेत निर्माण गर्न मद्दत पुग्छ। शिक्षा भूराजनीतिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण कडी बनेको छ। यस क्षेत्रमा सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ।'
नेपाललाई शिक्षा हब बनाउन सके नेपालको भौगोलिक अवस्थिति र असंलग्न परराष्ट्र नीतिका हिसाबले पनि फाइदा हुने उनको तर्क थियो।
'भारत र चीनजस्ता ठूला मुलुकको नजिक रहेको नेपालले व्यापारिक सम्भावना तथा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन सक्छ। नेपालले प्राकृतिक र जैविक विविधता, आयुर्वेद, पर्वतारोहण र मेडिकल शिक्षाजस्ता क्षेत्रमा अध्ययन तथा अनुसन्धानको ठूलो अवसर प्रदान गर्न सक्छ,' महरले भने।
शिक्षा क्षेत्रमा सही मार्गदर्शन र संसाधनको प्रयोग गरेर नेपाललाई विश्वभरका विद्यार्थीको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ।
यसका साथै उनले अधिकारको आन्दोलनसँगै कर्तव्य निर्वाहमा नचुक्न निजी क्षेत्रलाई सुझाव दिए।
'समाजको हरेक वर्ग आफ्नो अधिकारको संघर्षमा छ। अरुको अधिकारको चिन्ता देखिँदैन। कर्तव्य निर्वाहमा पनि कन्जुस्यायी देखिन्छ। थाति रहेको विद्यालय शिक्षा विधेयकमा पनि सबैले अधिकार मात्र खोजिरहनु भएको छ,' उनले भने।
नेता महरले निजी क्षेत्रको लगानी सुरक्षाका सवालमा कांग्रेस दृढ र प्रतिबद्ध रहेको बताए। 'कांग्रेस खुला बजारमा विश्वास गर्ने पार्टी हो। 'थ्री पी- पब्लिक प्राइभेट पार्टनरसिप' अवधारणाबाट कांग्रेस एक इन्च पछि हट्दैन,' उनले भने।
Shares

प्रतिक्रिया