अध्यक्ष केपी शर्मा ओलीको चाहनामा अवरोध नभए आउँदो वर्ष नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन हुने नेताहरूले बताएका छन्। आफू प्रधानमन्त्री रहेकै बेला पार्टीको महाधिवेशन सक्ने ओलीको चाहनाअनुसार महासचिव शंकर पोखरेलसहितका नेताहरू तयारीमा खटिइसकेका छन्।
चितवनको सौराहामा २०७८ मंसिरमा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन भएको थियो र ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए। पाँच वर्ष कार्यकाल हुने भएकोले आगामी ०८३ मंसिरसम्ममा एमालेले महाधिवेशन गर्नुपर्छ। त्यसका लागि करिब एक वर्ष नौ महिना समय बाँकी भएपनि अध्यक्ष ओली महाधिवेशनलाई एकवर्ष अघि ल्याउने प्रयत्नमा जुटेका छन्।
एमाले नेताहरू ‘अर्ली’ महाधिवेशन गर्ने तयारी भइरहेको बताउँछन्। ओली निकट एक नेताले ०८२ को मंसिरदेखि माघभित्र एमालेले महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसक्ने दाबी गरे।
कांग्रेसलाई सत्ता हस्तान्तरण र ०८४ को स्थानीय, प्रतिनिधि र प्रदेश सभा चुनावलाई मध्यनजर गरेर एक वर्षअघि नै महाधिवेशन गर्ने प्रयास भइरहेको ती नेताको भनाइ छ।
‘११ औँ महाधिवेशन अगाडि नै हुन सक्छ। ०८२ मा महाधिवेशन वर्ष हुने देखिन्छ। निर्णय भइसकेको त छैन तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको मुड, देशको परिस्थिति इत्यादि कुरालाई हेर्दा महाधिवेशनलाई अगाडि ल्याउनुपर्ने हुनसक्छ,’ ती नेताले थपे।
सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन पछाडि सार्न खोजिरहेका बेला एमाले अध्यक्ष ओली भने अगाडि सार्ने तयारीमा जुटिसकेको अर्का स्थायी कमिटी सदस्य बताउँछन्।
‘०८२ मा महाधिवेशन गरिहाल्ने कि भन्ने छ,’ उनले भने, ‘किनभने त्यसलगत्तै चुनावहरू आउँछ नि त। चुनाव तयारीको लागि पनि मंसिरतिर महाधिवेशन गर्नुपर्छ भन्ने छ। मूलतः चुनावलाई समय राखेरै महाधिवेशन अलि अगाडि गरौँ भन्ने सोचमा अध्यक्ष हुनुहुन्छ। नेताहरू मानसिक रूपमा तयार हुनुहुन्छ।’
वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकता गर्ने निर्णय भइसकेकोले यही बहानामा महाधिवेशनको मिति अगाडि सार्न सकिने ओलीको बुझाइ छ। माघ ८ गते बसेको सचिवालय बैठकले गौतमको अभियानसँग एकता गर्ने निर्णय गरेको थियो।
आगामी चुनावलाई ध्यान दिएर ‘मिसन ०८४’ अभियान चलाइरहेको एमालेको पहिलो दल बन्ने लक्ष्य छ। चुनावमा नेताहरू असन्तुष्ट नहुन् र कुनै बाधा नआओस् भन्ने ओलीको चाहना रहेको ती स्थायी समिति सदस्यको भनाइ छ।
एमालेले ०८२ भदौ २०–२२ सम्म ललितपुरमा दोस्रो विधान महाअधिवेशन गर्ने निर्णय गरिसकेको छ। उपमहासचिव प्रदीप ज्ञवाली महाधिवेशनअघि विधान महाअधिवेशन हुने गरेको बताउँछन्।
‘नीतिगत विषयबारे छलफल गरेर निर्णय गर्न विधान महाअधिवेशन गर्छौँ,’ उनले भने, ‘भदौमा तय भएको विधान महाअधिवेशनमा हामी केन्द्रित हुन्छौँ।
२०७८ असोज १५–१७ मा पहिलो विधान महाधिवेशन गरेर एमालेले सोही वर्षको मंसिरमा दसौँ राष्ट्रिय महाधिवेशन गरेको थियो।
‘महाधिवेशनका लागि छलफल गर्न हामीसँग पर्याप्त समय छ,’ ज्ञवालीले थपे।
विधान महाधिवेशनबाट विद्या भण्डारीलाई छेकाबार!
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तयारी स्वरूप जिल्ला दौडाहामा छिन्। एमालेकै सचिवालयका बहुमत सदस्यले भण्डारीलाई एमालेको राजनीतिमा ल्याउन खोजिरहेका छन्।
यता, एमाले अध्यक्ष ओली र महासचिव पोखरेल उनलाई रोक्न चाहन्छन्। विधान महाधिवेशनबाटै भण्डारीलाई छेकाबार लगाइने आशंका उनीनिकट नेताहरूको छ।
‘सदस्यता नवीकरणलाई तीव्रता दिएको भएर निर्धारित समयअगावै महाधिवेशन होला जस्तो देखिन्छ,’ भण्डारीलाई राजनीतिमा सक्रिय गराउन लागेका एक नेताले भने, ‘हाम्रो पार्टीमा अध्यक्षलाई जे लाग्यो, त्यो हुन्छ।’
भदौको तेस्रो साता हुने एमालेको विधान महाधिवेशनले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय बन्न नदिने व्यवस्था राख्नसक्ने उनको आशंका छ।
एमालेले ७० वर्षको उमेर हद पनि विधान महाधिवेशनबाटै हटाएको थियो।
प्रधानमन्त्री छँदै महाधिवेशन गर्ने ओलीको चाहना
राजनीतिमा लाभहानिको हिसाबकिताब गर्न खप्पिस ओलीले प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गरेर सहजै शक्ति कायम राख्न खोजेको नेताहरू बताउँछन्।
कांग्रेस सभापति शेरबहादुर देउवासँग असार १७ गते मध्यराति गरिएको सात बुँदे सहमति अनुसार ओली ०८३ असारसम्म प्रधानमन्त्री रहनेछन्।
सत्ता हस्तान्तरणअघि उनी पार्टी महाधिवेशन गर्ने योजनामा लाग्नुको मुख्य कारण यही भएको नेताहरूको बुझाइ छ।
‘यो प्रष्ट छ, तेस्रो कार्यकालको अध्यक्ष पनि ओली नै बन्नुहुनेछ,’ ओलीनिकट ती नेता भन्छन्, ‘एमालेमा खासै हिसाबकिताब गर्नुपर्दैन। महाधिवेशन अगाडि गर्दा राम्रो हुन्छ भन्ने मात्र हो।’
सदस्यता नवीकरण र अधिवेशन
उनका अनुसार महाधिवेशन अगाडि गर्ने योजना अनुसार केही जिल्लामा तयारी थालिएको छ। पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिइएको उनले बताए।
‘कास्की सहित केही जिल्लाका नेता/कार्यकर्तालाई यसबारे जानकारी दिइएको र गतिविधि बढाउन भनिएको रहेछ,’ उनले भने, ‘विधान अधिवेशन सकिएपछि महाधिवेशन गर्ने भनेर आन्तरिक तयारी गर्न भन्दै महासचिव सहितका नेताहरू लाग्नुभएको छ।’
फागुन र चैत महिनामा सदस्यता नवीकरण सक्नेगरी काम भइरहेको एमाले स्थायी कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन्। पार्टी सदस्यता नवीकरण हरेक वर्ष नियमित हुने गरेको उनले दाबी गरे।
‘हरेक वर्षको फागुन र चैत महिनामा हाम्रा सदस्यको नवीकरण हुन्छ,’ उनले भने, ‘किनभने, ०८२ सालका लागि योग्य बनाउन अहिले नै नवीकरण गरिएको हो।’
अन्य दलमा गएको वर्षको नवीकरण हुने गरे पनि एमालेमा सक्रिय सदस्यहरूको आउने वर्षको नवीकरण हुने गरेको उनको भनाइ छ।
‘०८२ मा यी साथीहरूले काम गर्छन्, भनेको मान्छन्, पार्टीले दिएको जिम्मेवारी पूरा गर्छन् भनेर निर्णय गरिएका सदस्यहरूसँग ०८२ सालको शुल्क लेबी लिएर नवीकरण भइरहेको छ,’ प्रचार विभाग प्रमुख गौतमले थपे।
एमालेको जिल्ला अधिवेशन पनि सुरु भएका छन्। यही फागुन १७, १८ र १९ गते मोरङको अधिवेशन तय भएको छ। जसको उद्घाटन अध्यक्ष ओलीले गर्ने तयारी छ।
Shares

प्रतिक्रिया