सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको जिकिर गरेका छन्। उनले सामाजिक सञ्जालकै कारण समाज असभ्य बन्दै गएकाले रोक्नको लागि विधेयक आवश्यक भएको तर्क पनि गरेका छन्।
‘यही महिनामात्रै कति मान्छे लुटिए ? विश्वास दिलायो। पैसा माग्यो या केही गर्यो। आइडीयाहरू लियो। त्यो चाहिँ अन्त्य गर्नुपर्छ कि पर्दैन ?राज्य छ भने सरकार छ भने लुट बन्द गर्नुपर्यो। हिंसा बन्द गर्नुपर्यो। अपराध बन्द गर्नुपर्यो,’ बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ कार्यक्रममा बोल्दै उनले भने,'हाम्रो त्यहाँ खाली डन्ड जरिवानाको मात्रै कुरा छैन। सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूलाई लिटरेसी क्याम्पेन चलाउने भनेका छौँ। उनीहरूलाई सहयोग गर्ने भनेका छौं। के-के चिज गर्नुहुन्छ के के चिज गर्नुहुन्न आइटीको, सामाजिक सञ्जालको माध्यमबाट भनेर। सबै प्रयोगकर्ताहरूलाई क्याम्पेन चलाउनुपर्यो। सरकारले सामाजिक सञ्जाललाई सघाउने भनेका छौँ। अभियान त्यो हुन्छ।’
अभिव्यक्ति स्वतन्त्रताको विषयमा सर्वाेच्च अदालतको निर्देशनात्मक फैसला नै काफी रहेको सञ्चारमन्त्री गुरूङले बताए। सर्वाेच्चले कुनै पनि आइटीका माध्यमबाट सामाजिक सञ्जाल चलाइराख्दा व्यक्तिगत विवरणको गोपनीयता भंग गर्ने काम रोक्न भनेको उनले उल्लेख गरे।
सामाजिक सञ्जाल प्रयोगकर्ता आफै सजग र सचेत हुनुपर्नेमा मन्त्री गुरूङले जोड दिए। सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्नेलाई प्रोत्साहन गर्ने सञ्चारमन्त्री गुरूङले बताए। तर, सामाजिक सञ्जालमार्फत् अरूलाई तुच्छ गाली दिन नपाइने उनको भनाइ छ।
‘तपाईं सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार बढाउनुस् न,’ उनले भने, ‘त्यसमा सरकारले प्रोत्साहन गर्छ। तपाईंको सेवालाई सूचीकृत गर्नुस् न। सरकारले प्रोत्साहन गर्छ। व्यापार बढाउनुस् न। तर, अरुलाई हेट स्पीच किन गर्नुहुन्छ। ह्याक किन गर्नुहुन्छ ? पाइन्छ त्यो। पाइँदैन।’
विधेयक अहिले संसदमा विचाराधीन छ। विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन्। सरकारले ल्याएको विधेयकमा डिपफेक भिडियो बनाउनेदेखि प्रसारण गर्नेसम्मलाई कारवाही हुने व्यवस्था छ। यसअघि बिहीबारबाट पोखरामा सुरु भएको २१ औं संस्करणको एनसेल फाउण्डेसन लिटरेचर फेस्टिभलको उद्घाटन पनि उनले नै गरेका थिए।
Shares

प्रतिक्रिया