यसअघि फेसबुक स्टाटसमा राष्ट्रिय सभालाई वृद्धाश्रम भन्दै टिप्पणी गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आज प्रतिनिधि सभाको रोस्ट्रमबाट पनि सोही अभिव्यक्ति दोहोर्याएका छन्।
संसद् बैठकमा आमसञ्चार विधेयकमाथिको छलफलका क्रममा रोस्ट्रममा पुगेका उनले राष्ट्रिय सभाले संवेदनशील कुराको वास्तै नगरी हुबहु पारित गरेको भन्दै आपत्ति जनाएका हुन्।
'यतिसम्म पनि अध्ययन गरेर आउँदैनन्। अब हामीले राष्ट्रिय सभालाई वृद्धाश्रम नभनेर के भन्ने?' उनले प्रश्न गरे।
उनको यस अभिव्यक्तिलाई लिएर नेकपा एमाले र माओवादीका सांसदले तत्कालै नियमापत्ति जनाए।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शाहीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग सभामुखसमक्ष माग गरे।
त्यसपछि शाहीले प्रतिनिधि सभाका सदस्यले सामाजिक सञ्जालमा लेख्दा राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गर्दा किन ध्यानाकर्षण नगराएको भन्दै उल्टै प्रश्न सोधे।
'म प्रतिनिधि सभाको निर्वाचित सदस्य हो। मेराविरुद्ध खेद प्रस्ताव पारित हुँदा तपाईंको ध्यानाकर्षण कहाँ थियो। कुण्डकुण्ड पानी मुण्डमुण्ड बद्धि भन्छन्' रोस्टममा उभिइरहेका शाहीले पाण्डेलाई प्रश्न गरे।
लगत्तै नेकपा एमालेका सांसद रघुजी पन्तले पनि शाहीको अभिव्यक्तिलाई लिएर नियमापत्ति भएको जानकारी सभामुख देवराज घिमिरेलाई गराए।
शाहीले पन्तलाई पनि जवाफ फर्काए। उनले भने, 'आज पनि भन्छु राष्ट्रियसभा वृद्धहरूको सभा हो। राजनीतिक भर्ती केन्द्र हो।'
शाही राष्ट्रियसभाकै विषयमा लगातार बोलिरहेपछि सभामुख घिमिरेले विषय केन्द्रित हुन सुझाए।
राप्रपाका प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमार्फत राष्ट्रियसभालाई वृद्धाश्रम भनेपछि राष्ट्रियसभा बैठकमा सदस्यहरूले अध्यक्ष नारायणप्रसाद दाहालको ध्यानाकर्षण गराएका थिए। त्यसपछि राष्ट्रियसभाले उनको अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव पारित गरेको थियो।
शाहीको अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभाका अन्य सांसदहरूले पनि आपत्ति जनाउँदै आएका छन्।
Shares

प्रतिक्रिया