नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको अभिव्यक्तिलाई लिएर समाजमा अराजकता फैलाइएको दाबी गर्दै आपत्ति जनाएकी छन्।
आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद न्यौपानेले वर्तमान व्यवस्था ल्याउन कुनै योगदान नदिएकाहरू नै समाजमा अराजकता फैलाइरहेको बताएकी हुन्।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले सार्वजनिक गरेको विचारलाई लिएर समाज तरंगित त भयो नै पक्ष र विपक्षमा मतहरू छताछुल्ल भए। यो व्यवस्था नै ठिक छैन भन्ने डंका पनि पिटिए,' उनले भनिन्, 'जसले यो व्यवस्था ल्याउन कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा उठाए बिडम्बना उनैले संविधानको भावना विपरित लोकतान्त्रिक गणतन्त्र एवं यो व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेको देख्दा २०६२/०६३ को जन आन्दोलन र गणतन्त्रको लागि मर्न तयार त्यो जनसागर झलझली सम्झिरहेको छु। लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ सभामुख महोदय तर अराजक र समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई पनि छैन।’
उनले सत्तामा फर्किन चाहना भए चुनावमा भाग लिन उनले चुनौती दिइन्। 'सत्तामा नै फर्कन चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै ०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकहरूलाई मेरो सुझाव छ– कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्' उनले भनिन्।
Shares

प्रतिक्रिया