राजनीति


देउवासँगको भेटबारे सिटौलाले गरे आफ्ना गुटका नेतालाई ‘ब्रिफिङ’

देउवासँगको भेटबारे सिटौलाले गरे आफ्ना गुटका नेतालाई ‘ब्रिफिङ’

नेपालखबर
फागुन १०, २०८१ शनिबार १७:४१, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन्। सिटौलाले आफ्नो समूहमा रहेका केही नेतालाई आज आफ्नै निवास चन्डोलमा बोलाएर छलफल गरेका हुन्।  

छलफलमा पार्टी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान,  कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायत सहभागी थिए।  

छलफलमा सहभागी बागमती प्रदेशका मन्त्रीसमेत रहेका काफ्लेले पार्टी र समसामयिक राजनीतिक गतिविधिबारे छलफल गरेको जानकारी दिए।

‘फागुन २ मा सभापतिसँग भएको भेट र विकसित राजनीतिक घटनाक्रमबारे कृष्ण दाइले जानकारी गराउनु भयो,’ काफ्लेले नेपालखबरसँग भने, ‘छलफल पार्टीलाई कसरी संस्थागत ढंगले अघि बढाउने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको तयारीलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भयो।’

छलफलबाट पार्टी संस्थापन पक्षको राजनीतिक गतिविधिलाई सहयोग गर्दै प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्ष निकालिएको सहभागी एक नेताले जानकारी दिए।

फागुन २ गते सिटौलाकै सक्रियतामा सभापति शेरबहादुर देउवालाई १४औँ  महाधिवेशनमा सहयोग गरेका पुराना नेताले बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए।

उक्त भेटमा देउवालाई नेताहरुले पार्टीको १५औँ महाधिवेशनमा संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा चासो राखेका थिए। उनीहरुले शेखर कोइराला र गगन थापा मात्रै सभापतिको उम्मेदवार भएको जस्तो प्रचार भएको भन्दै संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad