राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडिओ सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनःस्थापना गर्नुपर्ने आफूहरुको एजेण्डामा थप बल पुर्याएको बताएका छन्।
राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडिओ सन्देशले थप उत्साहित भएको बताए।
उनले राप्रापाले राजसंस्थाको पुनर्स्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सातवटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनःस्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरुलाई आह्वान गर्ने समेत बताए।
उनले भने, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रुपमा राजसंस्थाको पुनःस्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौँ। त्यो क्रममा अहिले हामी सातवटै प्रदेशमा भण्डाफोर सभाहरु गरिराखेका छौँ। पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ। स्वाभाविक रुपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौँ।’
अध्यक्ष लिङ्देनले पूर्वराजा शाहद्वारा जारी भिडिओ सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरुबीच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे।
‘सभाबाट पनि हामी सबै राजनीतिक दलहरुलाई यसको लागि आह्वान समेत गर्छौं। यसको प्रतिरोध र प्रतिवाद होला जस्तो मलाई लाग्दैन। राजाको आह्वानलाई व्यवहारमा लागू गर्ने दुईवटा बाटो छ। एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट। राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरुसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौँ।’
उनले पूर्वराजाको आह्वानलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि वार्ता र आन्दोलनको माध्यमबाट अघि बढ्ने समेत स्पष्ट पारे।
Shares

प्रतिक्रिया