राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको बताएका छन्।
बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए।
सत्ता र शक्तिमा बस्नेहरुले जनताको भवनाविपरीत काम गर्न नहुने उनको सुझाव थियो ।
‘अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यसकारण आवश्यक छैन भन्न थालेका छन्’, केसीले भने, ‘प्रतिगामीहरुले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटेका छन्।’
उनले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरङ्कुश शासन ढालेर ल्याएको बताए। सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैँ स्थायी हुने अध्यक्ष केसीको भनाइ छ। नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उनले उल्लेख गरे।
राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताए।
जनताको चाहना र आवश्यकताअनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे। सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिए। रासस
Shares

प्रतिक्रिया