पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका सन्दर्भमा दिएको शुभकामना सन्देशले राजावादीहरू खुशी भएका छन्। अब राजतन्त्र पुनः स्थापनका लागि निर्णायक संघर्ष हुने भन्दै उनीहरू जुर्मुराएका छन्।
आफ्नो शुभकामना सन्देशमा पूर्वराजाले ‘देश जोगाउका लागि आफूलाई साथ दिन’ आह्वान गरेका थिए। आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका छन्।
पूर्वराजाको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ। नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ। अब समय आयो। राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं।’
पूर्वराजाबाट देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आफू फेरि शक्तिमा फर्किने चाहना अभिव्यक्त भएको यो पहिलोपटक भने होइन। विभिन्न शुभकामना मन्तव्यहरूमा उनले घुमाउरो तरिकाले यस्तो चाहना मुखरित गरिरहेका हुन्छन्। तर, अरुबेला मौन बस्छन्। यिनै वक्तव्यवाजीभन्दा बाहेक राजतन्त्र पुनःस्थापनाका लागि उनले आफ्नोतर्फबाट कुनै ठोस प्रयास अघि बढाएको पाइँदैन।
यसपालिको वक्तव्यमा भने उनले मुर्तरूपमा नै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको छ। ‘अब राजाले केही गर्दैछन्’ भन्ने भाव राजावादीहरूमा पैदा भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अब राजतन्त्र र गणतन्त्रको छिनोफानोका लागि जनमत संग्रह गराउन निर्णायक दबाब दिइने बताए।
‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन। पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो। संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं। यसको छिनोफानो हुनैपर्छ’ उनले भने।
उनले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने उद्घोष गरे।
Shares

प्रतिक्रिया