राजनीति


प्रभु साहलाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न: म मेनपावरको मान्छे हुँ?

प्रभु साहलाई प्रधानमन्त्री ओलीको प्रतिप्रश्न: म मेनपावरको मान्छे हुँ?

नेपालखबर
फागुन ४, २०८१ आइतबार १५:३१, काठमाडौँ

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहमाथि आक्रोश पोखेका छन्। 

सांसद साहले ७० लाख युवाले विदेशमा कमाएको रकम हुन्डीकारोबारीमा मिलान गराएको विषयमा मौन बसेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए। 

उनले भनेका थिए, 'झन्डै ७० लाख नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन्।  यसअनुसार ४० खर्बभन्दा बढी रेमिट्यान्स नेपाल आउनुपर्ने हो तर अहिलेसम्मको रिपोर्टले देखि १४ खर्ब मात्रै आउने वाला छ। मेरो प्रश्न प्रधानमन्त्रीसँग छ। नेपाली युवाहरूले विदेशमा पसिना बगाएर कमाएको रकम हुन्डी कारोबारमा मिलान भइरहँदा तपाईं किन मौन बस्नु भयो? नेपाली युवाहरू भ्रष्टाचार‍ीको कालोधन साट्न मरिमेटिरहेका छन् ? '

जवाफमा ओलीले भने, 'उहाँका प्रश्नहरू उहाँका मनमा रहेका घृणा आक्रोश अपमानजनक छन्। संसद् जस्तो सम्मानजनक ठाउँमा विदेश युवा पठाएर भन्ने भाषा बोलेर के लाभ भयो? के मेनपावर व्यवसायी हो? तपाईंले भनेको ७० लाख यो सात महिनामा गएका हुन्?'

फ्लोरबाट साहले प्रतिक्रिया दिन खोज्दा सभामुख देवराज घिमिरेले आजको बैठकमा दोहोरो प्रश्नोत्तर नहुने भन्दै आसन ग्रहण गर्न आग्रह गरे।त्यसपछि ओलीले साहको प्रश्नको जवाफ दिन आवश्यक नभएको बताए। 
 

यस्ता थिए साहका प्रश्नहरू 

(१)    नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ ?  उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ ? ती अबैध सम्पत्तिहरूलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्तिहरू विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?

(२)    झण्डै ७० लाख भन्दा बढि नेपाली युवाहरू अहिले वैदेशिक रोजगारमा छन्। उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्‌यान्स आउनुपर्ने हो ?  तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३-१४ खर्ब आउने संभावना छ। मेरो प्रश्न छ- हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ?  के नेपाली युवाहरू भ्रष्टाचारीहरूको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?

(३)    वैदेशिक रोजगारमा जाने नेपाली मजदुरहरूले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्।  किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईहरूले के कति लाभ पाउनुभएको हो ?

(४)    नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ। ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३०% हुन आउँछ।  यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उभो लाग्छ?

(५)    तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन? प्रष्ट पारिदिन अनुरोध गर्दछु। 

(६)    यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता-सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?

(७)    संघीय राजधानी जोड्ने सबै राजमार्गहरू अस्तव्यस्त छन्। तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक-यात्राको क्रममा जनताको आन्द्रा-भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ? 

(८)    आवासविहीनहरूलाई घर बनाउन 'सुरक्षित आवास'  भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितहरूसँग मजाक गर्नुभयो ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad