प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन बनाउन संसद्मा विधेयक ल्याउने बताएका छन्।
बुधबार नेपाल निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले राजनीतिक दलसम्बन्धी कानुनको अभाव रहेको भन्दै अभाव परिपूर्ति गर्न विधेयक ल्याउन लागेको बताए।
‘जथाभावी अध्यादेश ल्याएर, मैले पार्टीको ४० प्रतिशत वा संसदीय दलको ४० प्रतिशत पुर्यायो भने पार्टी अलग हुन पाउँछ भनेर फुटेको मानिने छैन। अलग हुन पाउँछ भन्ने छ। नयाँ पार्टी खोल्न पाउँछ भन्ने अध्यादेश ल्याउँदा ल पार्टी फुटाउन खोज्यो भनेर कराउनेहरूको नाम पनि म लिइरहन्न। तपाईंहरू चिनिहाल्नुहुन्छ,' उनले भने, 'तिनीहरू त पछि हाम्रो पार्टी फुटाउन २५ प्रतिशत भए हुन्छ वा २० भए हुन्छ भनेर अध्यादेश ल्याएर नेकपा एमाले फुटाउने तत्व होइन? तिनीहरूले अहिले फेरि ४० वा ४० ल्याउँदै छ रे, पार्टी फुटाउँदै छ रे भने। हामीलाई पार्टी फुटाउने कुनै सोख छैन तर कानुन त चाहियो नि। कानुनको अभाव छ।'
उनले झण्डै दुई तिहाइको सरकारलाई कसैको पार्टी फुटाउन आवश्यक नपर्ने पनि बताए।
'हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन। हामीसँग झन्डै दुई तिहाइको सरकार छ। किन फुटाउने पार्टी बेकार? फेरि फुटाउने पनि कत्रा? कुनै चट्टान फोर्ने हो र? यत्रायत्रा गिटी ढुंगा फुटाएर को बस्छ? त्यो आवश्यकता पनि छैन, सोख पनि छैन।’
Shares

प्रतिक्रिया