सर्वोच्च अदालतले अग्राधिकार दिने भनेको एउटा महत्त्वपूर्ण विवादसम्बन्धी रिटको पेसी भने झण्डै ५ महिनापछि तोकेको छ।
व्यास नगरपालिका प्रमुखको मतगणना विवादमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले दायर गरेको निवेदनलाई मंसिर २ गते न्यायाधीश विनोद शर्माको इजलासले अग्राधिकार दिएर सुनुवाइ हुने गरी आदेश दिएको थियो।
त्यसपछि माघ २१ गते पेसी चढेको रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुनीलकुमार पोखरेलको इजलासले अन्य आदेश गरेको सर्वोच्चको अभिलेखमा देखिन्छ। तर, त्यसपछि भने अदालतले असार २ गतेको पेसी तारिख दिएको छ।
जोशीले उच्च अदालत, पोखराका रजिस्ट्रारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
पोखरा उच्च अदालतका तत्कालीन रजिस्ट्रार (हाल सर्वोच्चका प्रवक्ता) अच्युत कुइँकेलले प्रशासनिक आदेश गरी इजलासबाट भएको फैसला कार्यान्वयनमा रोक लगाएको भन्दै जोशी सर्वोच्च पुगेका हुन्।
सुरुमा सर्वोच्च प्रशासनले उनको निवेदन दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो। पछि इजलासबाट उक्त दरपीठको निर्णय बदर गरी जोशीको निवदन दर्ता गर्न आदेश भएको थियो।
पोखरा उच्च अदालतले जोशीका पक्षमा निर्णय सुनाएको छ। जोशीले मतगणनामा धाँधली गरी आफूलाई हराएको दाबी गरी उच्चमा रिट दिएका थिए। उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले गत जेठ १ गते पुनः मतगणना गर्न आदेश दिएको थियो। उक्त आदेशमा गत असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथिमिति नै तोकिएको थियो।
तर, आदेशअनुसार मतगणना नगर्न भन्दै रजिस्ट्रार कुइँकेलले रोकिदिएपछि जोशी सर्वोच्च पुगेका हुन्। कुँइकेलले भने उच्चको आदेशविरूद्ध अर्को पक्ष सर्वोच्च गएकाले तत्काल पुनः मतगणना गर्न नमिल्ने तर्क गरेका थिए।
जोशीले भने पुनरावेदन नै नलाग्ने मुद्दामा सर्वोच्चले अर्को पक्षको निवेदन ग्रहण गरेको र त्यो गैरसंवैधानिक रहेको तर्क गरेका छन्।
२०७९ मा सम्पन्न निर्वाचनमा जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गर्दै आएका छन्।
निर्वाचन आयोगले प्रकाशित गरेको नतिजामा जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित भएको देखाइएको छ। न्यौपानेले १२ हजार ७८ र जोशीले ११ हजार ८ सय २६ मत पाएको नतिजामा उल्लेख छ।
हाल न्यौपानेले नै नगरप्रमुखका रूपमा काम गरिरहेका छन्।
Shares

प्रतिक्रिया