संघीय संसद् भवनमा प्रवेश गर्न खोज्दा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेका छन्।
सोमबार संसद् बैठक चलिरहँदा निषेधित क्षेत्र तोडेर प्रवेश गर्न खोजेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
पछिल्लो समय सुनार गृहमन्त्री रमेश लेखकलाई कारबाहीको मागसहित प्रदर्शन गर्दै आएका छन्। केही दिनअघि उनीसहितले नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा पनि प्रदर्शन गरेका थिए।
सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेम विवाहलाई राज्य शक्तिको दुरुपयोग गरेको छुटाउन खोजेको उनीहरूको आरोप छ। प्रहरीले भने बालविवाहको उजुरी परेपछि सत्येन्द्रलाई पक्राउ गरिएको दाबी गरेको छ।
तर उनीहरूले अदालतमा उमेर पुगेर विवाह समेत गरिसकेका छन्। प्रहरीको दाबी भने उजुरी पर्दा उमेर नपुगेको र पछि अदालतमा लैजाने बेलामा मात्रै उनीहरूले उमेर पुगेर विवाह गरिसकेको बताएको छ।
तर दलित अभियन्ताहरूले भने नेहाका परिवारको प्रभावमा परेर गृहमन्त्रीले जातीय विभेदलाई पश्रय दिएको आरोप लगाएका छन्। यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी परेको छ।
आयोगले छानविन गरिरहेको जनाएको छ। उनीहरूले सामान्य मुद्दामा भारत पुगेर प्रहरीले ल्याएको र झुटा मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएका छन्।
सर्वोच्च अदालतले भने उनीहरूको विवाहलाई मान्यता दिँदै सत्येन्द्रलाई रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि सत्येन्द्र रिहा भएका थिए। रिहा भए पनि आफूहरूमाथि धाकधम्की आएको र घरमा बस्ने वातावरणसमेत नभएको बताएका छन्।
Shares

प्रतिक्रिया