राजनीति


सगरमाथा संवाद: भारत, चीनसहित दक्षिण एसियाली मुलुकका प्रमुखलाई आमन्त्रण गरिने

सगरमाथा संवाद: भारत, चीनसहित दक्षिण एसियाली मुलुकका प्रमुखलाई आमन्त्रण गरिने

संवादको तयारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर: प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
माघ २७, २०८१ आइतबार १६:४८, काठमाडौँ

आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज तयारी बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ। यस्तै कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवलाय गठन गर्ने तयारी भएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ।

संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ। कार्यक्रम सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथासंवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ।

मुख्य कार्यक्रमको तयारीलाई भव्य तुल्याउन समावेशी प्रतिनिधित्व हुने गरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्वकार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ।

संवादका अवसरमा नेपालको पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ।

यस अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ। 

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए। सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad