नेकपा एमालेको कारबाहीमा परेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका भीम रावलले ०८४ को निर्वाचनअघि दल गठन गर्ने घोषणा गरेका छन्।
शनिबार मातृभूमि जागरण अभियानको धनगढीमा सम्पन्न कैलाली–कञ्चनपुरको जागरण भेलालाई सम्बोधन गर्दै रावलले यस्तो घोषणा गरेका हुन्। दलको नाम मातृभूमि भने नरहने उनको भनाइ छ।
उनले गलत प्रवृतिविरुद्ध आवाज उठाउँदा एमालेले कारबाही गरेको आरोप लगाए।
रावलले मातृभूमि जागरण अभियानमार्फत कसरी अघि बढ्ने भन्ने विषयमा देशव्यापी छलफल गरिरहेको पनि बताए। एमालेमा ओली प्रवृति हावी भएको र गलत भयो भन्दा पार्टीबाटै निष्काशन गर्ने प्रवृतिका कारण एमाले छोड्नेको लर्को लागेको उनको दाबी छ।
एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनका नाममा सरकार चलाउने र जनतालाई झुक्याउने खेल मात्रै खेलेको रावलको आरोप छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच तत्कालीन अवस्थामा मिलिजुली सरकार चलाउने गोप्य सहमति मात्रै भएको र जनतालाई एकता गर्ने भनेर झुक्याएको उनको आरोप छ।
रावलले एमाले सिद्धान्तबाट नभई ओली प्रवृतिमा चलेको आरोप पनि लगाए।
Shares

प्रतिक्रिया