संघीय संसद्का दुवै बैठक आइतबार बस्दैछ। बैठकको अघिल्लो दिन आज शनिबार संसद् सचिवालयले प्रतिनिधिसभामा ७ वटा र राष्ट्रियसभामा ३ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८१ पारित गर्ने तयारी छ। बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदनसहित उक्त विधेयक पेस गर्ने र विधेयकमाथि छलफल सकेर निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
यसैगरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। शुक्रबार बसेको बैठकमा मन्त्री चौरसिया झुक्किएपछि यो विधेयक पारित हुन सकेको थिएन।
प्रतिनिधिसभा बैठकमै गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ सँगै नेपाल प्रहरी विधेयक २०८१ र सशस्त्र प्रहरी बल नेपाल विधेयक २०७१ प्रस्तुत गर्ने भएका छन्।
त्यसअघि अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ फिर्ता लिने प्रस्ताव गर्ने छन्। यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
आइतबार सवा १ बजे सुरु हुने राष्ट्रियसभा बैठकमा भने अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन, पेस गर्ने भएका छन्।
पौडेलले प्रतिनिधिसभामा भने शुक्रबार उक्त प्रतिवेदन पेस गर्दै बजेटको आकार घटाएको जानकारी दिएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ पेस गर्ने र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्जालन तथा व्यवस्थापन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत गर्ने छन्।
Shares

प्रतिक्रिया