संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गरेका छन्।
नेपाल भ्रमणमा रहेका उनीहरूले आज सो उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोपेपछि केही समय अवलोकन गरे। अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’को बिरुवा रोपिन्। बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोपेका थिए।
सो अवसरमा अधिराजकुमार र अधिराजकुमारीले महारानी एलिजाबेथ र राजकुमार फिलिपले रोपेका पुँवालेका रुख राम्रोसँग हुर्केकोमा खुसी व्यक्त गरे। उनीहरूले उक्त कार्य लामो परम्परागत सम्बन्धको प्रतीक बनेको उल्लेख गरे।
उनीहरूले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बोरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गरे। उनीहरूलाई वन तथा वातावरण राज्यमन्त्री रुपा विकले स्वागत गरेका थिए। साथै वनस्पति विभागका महानिर्देशक सञ्जिव राई र वनस्पति उद्यानका प्रमुख मधुसुदन थापाले उद्यान र वनस्पतिका बारेमा जानकारी गराए।
नेपालमा पहिलो पटक भएको अधिराजकुमार र अधिराजकुमारीको यस भ्रमणले बेलायत–नेपाल सम्बन्धको गौरवशाली इतिहासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। मंगलबार नेपाल आइपुगेका उनीहरूले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधारमा भइरहेको कामबारे उनीहरूले अवलोकन गरेका थिए। अधिराजकुमार एड्वर्डले बुधबार यहाँस्थित बेलायती दुतावासमा आयोजित कार्यक्रममा ‘ड्यूक अफ एडिनब्रा’ अन्तरराष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै अन्तरक्रिया गरेका थिए। अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ गई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटवार्ता गरेकी थिइन्।
उनले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गरेकी थिइन। त्यस्तै अधिराजकुमार एड्वर्डले बुधबार भक्तपुरको भ्रमण गरी त्यहाँको कला सांस्कृतिको अवलोकन गरी काठमा बुट्टासमेत खोपेका थिए।
भ्रमणका क्रममा आजै उनीहरूले गोदावरीको फुल्चोकीस्थित अन्तरराष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (ईसिमोड)को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गरे। उनीहरूले भ्रमणका क्रममा पोखरा पुगेर गोरवशाली गोर्खा सम्बन्धमार्फतको सेवा भावसहितको साझा इतिहासलाई सराहना गर्ने जनाइएको छ।
यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो। महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए। सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो।
गोदावरी उद्यानको बेलायतसँगको सम्बन्ध
नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर २०७३ साल असोज ६ गते गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान निर्माण गरिएको थियो। नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भइ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यको शाही वनस्पति उद्यानसँगको सम्बन्ध छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको औपचारिक भ्रमणका बेला विसं २०७८ कात्तिक १७ गते स्कटल्याण्डको एडिनब्रास्थित शाही बनस्पति उद्यानमा रहेको नेपाली बगैँचामा ‘भोजपत्र’को विरुवा रोपेका थिए।
सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपालको भ्रमण गरी वनस्पतिको अध्ययन गरेका थिए। पछि विभिन्न वैज्ञानिकहरूले नेपालको भ्रमण गरी आठभन्दा बढी नेपालका बनस्पति पत्ता लगाएका थिए। तत्कालीन राजा महेन्द्र विक्रम शाह विसं २०१७ मा बेलायत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनीले बेलायतको शाही बनस्पति उद्यान अवलोकन गरेका थिए। नेपाल फर्केपछि उनीले त्यस्तै उद्यान बनाउनुपर्छ भन्ने सोचले गोदावरीमा २०१९ सालमा उद्यान स्थापना गरेका थिए।
दुई बेलायती डिजाइनरले सन् १९६१ देखि १९६५ सम्म नेपालमै बसेर सो उद्यानको डिजाईन गरेको बताइन्छ। बेलायतको सहकार्यमा बनेको यस उद्यानमा सन् १९८६ मा महारानी एलिजाबेथ द्वित्तियले नेपाल भ्रमणका बेला वृक्षरोपण गरेकी थिइन्। पछि सो क्षेत्रमा विभिन्न समयमा १७ देशका राष्ट्रप्रमुखहरूले विभिन्न वनस्पति रोपेका छन्।
प्राकृतिक सौन्दर्यले सुसज्जित फूलचोकी पर्वतको काखमा अवस्थित गोदावरी क्षेत्रमा रहेको यस उद्यानको ठूलो महत्व छ। राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरूको नमूना (हर्वेरियम) सङ्कलन गरी बनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा योगदान पुर्याएको जनाएको छ। रासस
Shares

प्रतिक्रिया