प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवालाई राज्यबाटै भइरहेको अत्याचारलाई ‘लज्जास्पद’ भनेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले विवाह गरेको अदालती प्रमाणपत्र हुँदाहुँदै पनि त्यो अन्तरजातीय जोडीलाई प्रताडित गर्नु लज्जाजनक घटना भनी टिप्पणी गरेका हुन्।
प्रचण्डले भने, ‘विवाह गरेको प्रमाणपत्र हुँदाहुँदै अन्तरजातीय जोडीलाई प्रताडित गरिएको घटना सुनियो, योभन्दा लज्जास्पद कुरा के हुन्छ?’
भिडिओ:
सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेका सत्येन्द्रलाई गृहमन्त्री रमेश लेखककै निर्देशनमा प्रहरी प्रशासनले प्रताडना दिइरहेको घटना सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ।
सो विषय बिहीबार संसद्मा पनि प्रवेश गरेको हो।
यसअघि आकस्मिक समयमा बोलेका सांसदहरूले पनि गृहमन्त्रीको चर्को आलोचना गर्दै घटनाको जवाफ मागेका छन्।
संसद् बैठकको आकस्मिक समयमा सांसदहरू शान्ति विक, शिव नेपाली, सुमना श्रेष्ठ, रणेन्द्र बराइली, हर्कमाया विकलगायतले गृहमन्त्री रमेश लेखकको चर्काे आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
सांसद शान्ति विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन्।
उनले गृहमन्त्री रमेश लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन्।
सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन्।
अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे। उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको टिप्पणी गरे।
उनले सत्येन्द्र जोडीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारँग माग गरे।
गृहमन्त्री लेखककै निर्देशनमा दलित-गैरदलित जोडी सत्येन्द्र र नेहालाई प्रहरी प्रशासनबाट दुःख दिइरहेको समाचार सार्वजनिक भएपछि बुधबार मात्र काठमाडौँको माइतीघरमा दलितहरूले गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए।
Shares

प्रतिक्रिया