बुधबार (भोलि) बिहान ११ बजेका लागि आव्हान भएको बागमती प्रदेश सभा बैठक प्रतिपक्षीहरूले अवरोध नगर्ने भएका छन्।
सदन सञ्चालन सहज बनाउने भन्दै मंगलबार (आज) प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए। सोही बैठकमा सदन अवरुद्ध नगर्ने सहमती भएको सभामुख पाठकले बताए।
प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोध नरहोस् भन्ने उदेश्यले डाकिएको बैठकमा सरकारले विपक्षी दलको माग विस्तारै पूरा गर्ने सर्तमा सहमति भएको पाठकको भनाइ छ।
‘भोलिको प्रदेश सभा बैठक बस्छ, त्यसमा विपक्षी दलहरूले कुनै अवरोध गर्ने छैनन्,’ सभामुख पाठकले भने, ‘सदनमा दर्ता भएका विधेयकहरू माथिको छलफल गर्नुछ। यस्तो अवस्थामा दुवै पक्षको सहमतीमा सदन सञ्चालन गर्नुपर्छ भनेर नै मेरै नेतृत्वमा बैठक बसेको हो। बैठकले सौहार्दपूर्ण रुपमा सदन सञ्चालन गर्ने निर्णय गरेको छ।’
त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्मकट्टेलले भने आफूहरूसँग सरकारले गरेको सहमति कार्यान्वयनका विषयमा सर्वलदीय बैठकमा कुनै ठोस परिणाम नआएको उल्लेख गरे।
‘हामी सदन नै रोकेर अभद्र बन्दैनौँ। केही समय पर्खिनु भनेर सरकार पक्षले समय माग्नुभएको छ,’ उनले भने, ‘सोहीअनुसार प्रदेशसभा बैठक सञ्चालन हुन्छ। उहाँहरूको अनुरोधमा सहमति कार्यान्वयनका लागि केही समय दिएका हौँ।’
निर्वतमान मुख्यमन्त्रीसमेत रहेका जम्मकट्टेलका अनुसार सदनमा दर्ता भएका विधेयकलाई अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायत प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गर्ने छैनन्।
बजेटको सहमति र गत असोज ११ र १२ गते बर्षाका कारण परेको विपद्को बेला पीडित पक्षलाई राहत दिने विषयमा सरकार र प्रतिपक्षी दलसँग गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै प्रतिपक्षी दलहरू रुष्ट देखिएका हुन्।
यता, बागमती प्रदेश सरकार प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने भने हिउँदे अधिवेशन सुरु हुनुपूर्व नै सभामुखले सबै दलका शीर्ष नेताहरूलाई छलफलमा डाक्नु पर्ने बताउँछन्। ढिलै भए पनि सभामुख पाठकले सर्वदलीय बैठकको आव्हान गर्दा सदन सचारु गर्न थप सहयोग पुग्ने उनको भनाइ छ।
‘सदनमा दर्ता भएका विधेयकहरूलाई सुचारु अवस्थामा लगौं। केही त्यस्ता कमिकमजोरी भए समस्याको हल गर्दै जाऔं भन्ने उदेश्यले बैठक बसिएको हो,’ प्रवक्ता लामिछानेले भने, ‘छलफल सौहार्दपूर्ण बन्यो। बजेट ल्याउँदा भएका कमिकजोरीहरूलाई केलाउँदै आगामी आर्थिक बर्षमा ल्याउने बजेटलाई अलि अगाडि देखि नै वर्कआउट गर्ने सहमति गरियो। त्यो बाहेक प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको चिठ्ठा विधेयकलाई पनि छलफलको प्रक्रियामा ल्याइने सहमति भएको छ।’
प्रदेशसभामा प्रदेश खेलकुद ऐन संशोधन विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ।
उक्त विधेयकमाथि छलफल गरी सदनबाट पारित गर्नुपर्ने भएकोले सदन बस्नुअघि सर्वदलीय बैठक आव्हान गरिएको बताइएको छ । बैठकमा नेकपा एमालेका बागमती संसदीय दलका नेता जगन्नाथा थपलिया, कांग्रेस संसदीय दलका नेता एवम् प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, नेकपा माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, राप्रपा संसदीय दलका नेता उद्धव थापा र प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेको उपस्थिती रहेको थियो।
बागमती प्रदेश सभामा ७ राजनीतिक दलहरूको प्रतिनिधित्व रहे पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टी (हानेपा) भने बैठकमा उपस्थित भएनन्।
Shares

प्रतिक्रिया