राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताएका छन्।
शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताएका हुन्। उनले कुर्सीमा रहँदा जनता र देशका लागि कति काम गरेँ भन्नेकुराले नै महत्वपूर्ण अर्थ राख्ने बताए। उनले केन्द्रकृत राज्य सञ्चालनको भावना हटाउनुपर्ने बताए।
अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि नेपालले नयाँ ढंगले सोच्नुपर्ने बताए। जनतामा जाँदा काम गर्ने संकल्प लिएर जानुपर्ने उनको भनाइ छ।
‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन। एउटा कुरा उपयुक्त हो। मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आँकडा, हिसावकिताव रहनै पर्छ,' उनले भने, 'तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्नसक्छौँ।’
संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेको बताए। उनले अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको बताए । अहिले पनि केन्द्रकृत शासन प्रणालीको मानसिकता हावी रहेको बताए।
Shares

प्रतिक्रिया