यातायात सम्बद्ध व्यवसायी महासंघ र मजदुर सङ्गठनहरूले मेची राजमार्गमा भएको बन्द खुलाउन माग गरेका छन्।
ताप्लेजुङको पाथीभरा केबलकार निर्माण गर्ने सन्दर्भलाई लिएर आन्दोलनरत पक्षसँगको झडपपछि उत्पन्न समस्याका कारण यातायात क्षेत्र ठप्प भएको विषयमा सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी यातायात व्यवसायी संघ तथा मजदुर संगठनहरूले ४ दिनदेखि मेची राजमार्ग तथा तमोर कोरिडोर बन्द हुँदा धनकुटा, झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाको जनजीवन कष्टकर बन्दै गइरहेको उल्लेख गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, कोसी प्रदेश संयोजक सरोज श्रेष्ठ, अखिल नेपाल यातायात मजदुर सङ्घ कोसीका अध्यक्ष लिला प्रधान, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोसीका अध्यक्ष गौरी लामा तथा नेपाल यातायात मजदुर सङ्घ कोसीका कार्यवाहक अध्यक्ष विष्णु खत्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा यस क्षेत्रमा सार्वजनिक यातायात सेवा प्रवाह गर्ने स्वरोजगार व्यवसायीहरू र सवारीमा कार्यरत मजदुर तथा यसमा आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको उल्लेख छ।
‘निरन्तरको बन्दले व्यवसायीहरूले मासिक रूपमा व्यहोर्नु पर्ने आर्थिक दायित्वको भार थेग्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बन्द आह्वानकर्ताले बन्दको विकल्प खोज्न र परिस्थिति जटिल बन्दै गएकोले वार्ता संवादबाट निकास निकाल्न आन्दोलनरत पक्ष एवं नेपाल सरकारमा हार्दिक अनुरोध गर्दछौँ।’
अनिश्चित कालीन बन्द फिर्ता लिई जनजीवन सहज बनाउनेतर्फ राज्यपक्ष जिम्मेवार भई अविलम्ब यातायात सुचारु गराउन उनीहरूको माग छ।
Shares

प्रतिक्रिया