प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको रोडम्यापबारे प्रतिनिधिसभा बैठकमा स्पष्ट पारेका छन्। शुक्रबारको संसद् बैठकलाई सम्बोधन गर्दै ओलीले संविधानका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखिए जटिलताको समीक्षा गरी संविधान संशोधनलाई प्राथमिकता दिइने बताएका हुन्।
'सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ,' उनले भने।
उनले नेपाली कांग्रेस र नेकपा एमालेले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएर काम गरिरहेको पनि बताए। उनले थप भने, 'विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ। पहिचान गरिएका विषयहरूमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ।'
उनले सबैसँग छलफल गरी साझा धारणा बनाउने पनि बनाइने पनि बताए। 'संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस/छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा बनाउँछ,' उनले भने, 'त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ।'
Shares

प्रतिक्रिया