नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरूले नेपालले पर्याप्त आइटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन्।
कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र 'उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी' शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरूले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन्।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आईटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न सकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताए।
उनले भने, 'अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं। हरेक आईटी कलेजहरूमा कोटा नछुट्याइ सहजै आईटी पढ्न सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं।'
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनको भनाइ छ। उनले थपे, 'सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ। अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ। प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११/१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ।'
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्राध्यापक डाक्टर महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन्। उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन्। जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तर्फबाट काम गरिरहेको उनको दाबी छ।
उनले थपे, 'सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने विषय समेटिएको छैन। हरेक संकायमा प्राविधिक र व्यवसायिक सीप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागू गर्न आवश्यक छ।'
अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने चालिसेले बताए।
सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताएका छन्।
उनले देशको भूगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताएका छन्।
योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताएका छन्।
जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन्। कक्षा कोठाको पढाइ र व्यवहारमा लागू गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए।
त्यस्तै खिम्भु टेककी सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताएकी छन्। उनले थपिन्, 'सुरुमै उद्यमशील बन्ने आधारको लागि सीप विकास आवश्यक छ। जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ।'
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बुधबारदेखि सुरु भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाको विश्वास छ।
Shares

प्रतिक्रिया