राजनीति


माओवादीको दिन पूर्वबाट फर्किने प्रचण्डको आश

कोसीका नेता भन्छन्: पूर्वलाई समाजवादी क्रान्तिको आधारइलाका बनाउँछौँ
माओवादीको दिन पूर्वबाट फर्किने प्रचण्डको आश

सागर न्यौपाने
माघ १५, २०८१ मंगलबार २०:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिरयता कम्तीमा ७ पटक कोसी प्रदेशका विभिन्न जिल्ला पुगे।

मोरङ, झापा, उदयपुर, सुनसरीमा पटकपटक पुगेका उनी माघ १४ गते तेह्रथुम गए। दुई दिन उतै बसेका उनले कम्तीमा ६ वटा कार्यक्रममा सम्बोधन गरे। सहिद, बेपत्ता परिवारको घरमा बास बसेका उनले उनीहरूसँग खाना पनि खाए।

फर्केलगत्तै पूर्वकै केही जिल्लामा फेरि जाने कार्यक्रम तय भइसकेको छ। जुन प्रचण्डमा आएको ‘आमूल बदलाव’ भएको माओवादी केन्द्रकै कार्यकर्ताहरू बताउँछन्। १० वर्ष युद्ध लडेका प्रचण्डले सहर पसेर सत्ताको स्वाद चाखेपछि गाउँ बिर्सेको र जनतासँग सम्बन्धविच्छेद भएको उनीहरूको गुनासो थियो।

प्रचण्ड पनि पार्टीको चुनावी प्रदर्शन देखेर अन्य दलहरूसँग एकता गर्न तम्सिएका थिए। तर, एमालेसँगको एकता विफलतामा टुंगियो भने त्यसपछि अन्य साना दलहरूसँगको एकता अहिलेसम्म चर्चामा मात्र सीमित छ। 

तर, प्रधानमन्त्रीको रूपमा उनको तेस्रो कार्यकाल र गत मंसिरको उपचुनावमा पार्टीले ल्याएको नतिजाबाट उनी आशावादी देखिएका छन्। मतदातासम्म पुगेर आफ्नो कुरा राख्न सके चुनावी नतिजा सुधार्न सकिने उनको बुझाइ रहेको प्रचण्डका निकटस्थहरू बताउँछन्।

अहिले कोसीमा प्रचण्डको बाक्लो आउजाउ यसैको परिणाम भएको उनीहरूको भनाइ छ।

युद्धकालमा अन्यत्रको तुलनामा पूर्वबाट सोचेजति समर्थन नपाएको माओवादीका केन्द्रीय सचिव राम कार्की बताउँछन्। 

‘जति मध्य र पश्चिम क्षेत्रबाट सहयोग पायौँ, त्यति पूर्वले गरेन,’ कार्कीले नेपालखबरसँग भने।

तर, त्यही पूर्वले ०६४ को पहिलो संविधान सभा चुनावमा माओवादीलाई अभूतपूर्व साथ दियो। एमालेका केपी शर्मा ओली, कांग्रेसका कृष्णप्रसाद सिटौलाजस्ता चर्चित हस्तीलाई माओवादीका सामान्य कार्यकर्ताले पराजित गरेका थिए। १८ वटा क्षेत्रमा माओवादी विजयी भएको थियो। तर, ०७० मा माओवादी कमजोर बन्यो। ०७४ र ०७९ मा गठबन्धनका कारण अधिकांश क्षेत्रमा माओवादीका उम्मेदवार समेत थिएनन्।

गत मंसिर १६ गते भएको उपचुनावमा माओवादीले मोरङको ग्रामथान गाउँपालिका प्रमुख, उदयपुरको बेलकासहित केही पालिका र नगरको वडाअध्यक्ष जित्न सफल भयो। यसबाट प्रचण्ड उत्साहित भएको र जुनसुकै तहको कार्यक्रम राखिए पनि सहभागी हुन गाह्रो नमान्ने माओवादी नेताहरूको भनाइ छ।

सचिव कार्कीले पछिल्ला दिन अध्यक्ष प्रचण्डले प्रदेश १ लाई  प्राथमिकता दिएको बताए। 

‘पूर्वले समाजवादी क्रान्तिको अगुवाइ गर्न सक्छ, किनकि पूर्वका केही जिल्ला निकै विकसित छन्,’ कार्कीले भने, ‘पूर्वमा हरेक कार्यक्रम हुँदा अध्यक्ष आफैँ सहभागी हुन थाल्नुभएको छ।’

माओवादी कोसी प्रदेशका अध्यक्ष हर्क नेम्बाङले पूर्वका विभिन्न जिल्लामा अझै कार्यक्रम राखिएको बताए।

‘अब ०६४ साल फर्काउने हो। यो अभियानको नेतृत्व पूर्वबाट गर्न सबै जिल्लाका साथीहरू लागिसक्नुभएको छ,’ नेम्बाङले भने, ‘नयाँ शिराबाट माओवादी पार्टीलाई रिकभर गर्ने अभियान सुरुवात गरियो अहिले। स्थानीय तहको उपचुनावबाट रिकभर सुरुवात भइसकेको छ, अब निरन्तरता दिने हो। त्यो पनि अघि बढ्यो। पछिल्लो समय अध्यक्षले राम्रो समय दिइराख्नुभएको छ।’

कमजोर संगठन रहेको तेह्रथुममा प्रचण्डको उपस्थितिमा भएको कार्यक्रममा २ हजारभन्दा धेरै सहभागी भएकाले पार्टीको पक्षमा माहौल बढेको उनी दाबी गर्छन्। 

‘सबैतिर अभूतपूर्व जनताको उपस्थितिले तेह्रथुममा पनि पार्टी नयाँ उचाइमा आइसक्यो भनेर संकेत गर्‍यो,’ नेम्बाङले थपे, ‘अब १४ वटै जिल्लामा अभियानात्मक कार्यक्रम जारी रहन्छ।’

तेह्रथुमबाट प्रदेश सभा निर्वाचित सांसद दुर्गा चापागाईंले माओवादीले पूर्वका जिल्लालाई प्राथमिकता दिएको बताए। 

‘पूर्वमा पार्टीप्रति नयाँ उभार आइरहेको छ, माओवादीको क्रेज बढिरहेको छ,’ उनले भने, ‘पुनर्संगठित हुने अभियान पूर्वबाट सुरु भइरहेको छ।’

माओवादीका कोसी प्रदेश इन्चार्ज समेत रहेका उपमहासचिव हरिबोल गजुरेल, उपमहासचिव वर्षमान पुन, प्रदेशका अध्यक्ष नेम्बाङसहित केन्द्रीय नेतालाई लिएर प्रचण्ड मतदाता फकाइरहेका छन्।

‘जनस्तरमा सम्बन्ध विस्तारको काम गरेको हो। प्रचण्ड सरल, जनताको नेता हो भन्ने सन्देश गयो। आफ्नो पार्टीको पुरानो विरासत, सहिद, बेपत्ता घाइते परिवार भेट्ने, खाने, बस्ने भनेको चाहिँ माओवादी आफ्नो वर्ग र जनताप्रति फर्किराखेको छ भन्ने उदाहरण पनि हो,’ नेम्बाङ भन्छन्। 

प्रचण्डले पनि सार्वजनिक कार्यक्रममा आफूहरूले वर्ग छोडेको स्वीकार गर्दै अब सच्चिएर आएको बताए।

शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो,  हामीले महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो,’ प्रचण्डले मंगलबार भने, ‘हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा छोड्न पुग्यौँ। वर्गवैरीसँग बढी सहकार्य गरेको जस्तो देखियो। अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ।’

पूर्वमै किन?
प्रतिनिधि सभामा २८ क्षेत्र र प्रदेश सभामा ५६ क्षेत्र रहेको कोसी प्रदेशको झापा, मोरङ र सुनसरी जनसंख्या ज्यादा भएका जिल्ला हुन्। 

तर, यी जिल्लामा पहाडबाट झरेका मानिसहरू बढ्न थालेका छन्। त्यही भएर पूर्वी पहाडबाट झरेका मतदाताको मन जित्ने माओवादीको प्रयास देखिन्छ। 

‘जनयुद्धका क्रममा पश्चिमले योगदान गर्‍यो,’ सांसद दुर्गा चापागाईंले भने, ‘पूर्वका जनतामा रहेको अग्रगामी चेतनाले समाजवादी क्रान्ति पूरा गर्न भूमिका खेल्छ भन्ने हाम्रो निष्कर्ष हो।’

सचिव कार्की थप्छन्, ‘सधैँ होसियारीपूर्वक कदम चाल्ने पूर्वी क्षेत्रले आफ्नो सपनामा साथ दिन्छ भन्ने अध्यक्षलाई लागेको देखिन्छ। यद्यपि, क्रान्ति कहाँबाट हुन्छ भन्ने कुरा घोषणा गर्न सकिँदैन।’

कोसी प्रदेश अध्यक्ष नेम्बाङले आगामी ०८४ को चुनावमा पूर्वलाई प्राथमिकता दिएर अभियान चलाउने बताए। 

‘०८४ लाई निर्णायक बनाउन चाहन्छौँ। समाजवादी क्रान्तिको आधारइलाका पूर्वबाट विकास गर्ने चाहन्छौँ,’ उनले भने, ‘जहाँ पुँजीवादको विकास भएको हुन्छ, त्यहीँबाट समाजवादी क्रान्तिको सुरुवात हुन्छ। पूर्व भनेको समग्र यहाँको आर्थिक अवस्था, सामाजिक अवस्था, यहाँको राजनीतिक चेतनाको अवस्थालाई हेर्दा पनि हामी पुँजीवादको चरणमा छौँ। पार्टीले अहिले लिएको नीति समाजवादी क्रान्तिको जुन अभियान छ, त्यसको नेतृत्व पूर्वबाटै हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad