राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। शुक्रबारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बैठक सुरु भएको हो।
बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारीको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
अध्यक्ष लिङदेनले बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा नेकपा एमाले र नेपाली कांग्रेस दुई ठूला पार्टी मिलेर बनेको सरकारको पछिल्ला गतिविधिको बारेमा समिक्षा गर्ने तयारी रहेको बताए। उनले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाउनु भयो।
उनले नियमित संसद बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति बनेको बताए। उनले वर्तमान सरकार सञ्चाल भएदेखि अहिलेसम्मको बीचमा जनतामा आशा जागृत हुनुपर्नेमा जनतामा थप निराशा पैदा भएको बताए। अर्थतन्त्र शिथिल र कमजोर भएको भएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको दाबी गरे।
उनले सिमेन्ट लगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि हुँदा पनि सरकार अन्देखा भएर बसेको आरोप लगाए। उनले कमजोर वैदेशिक सम्बन्ध र असन्तुलित प्रराष्ट्रनीति कारण मुलुक भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेर गएको उल्लेख गरे।
अध्यक्ष लिङदेनले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उदेश्यले संसदलाई छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गरेको आरोप पनि लगाए।
उनले भने,‘यस्तो बेलामा सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उदेश्यले संसदलाई समेत छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गर्ने,नियमित अधिवेशन बोलाउनको लागि पनि प्रतिपक्षहरुले हस्ताक्षर गर्नुपर्ने परिस्थिति निर्माण भएको छ। अहिलेको समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ। पार्टीको आन्तरिक जीवनको बारेमा गम्भिर बहसहरु हुनेछन्।’
उनले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरी व्यवस्था बदल्ने आगामी रणनीति बनाउने पनि बताए।
पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम गरिरहेकाले त्यसको समीक्षा हुने उनको भनाई छ। देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने भन्दै संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताए।
Shares

प्रतिक्रिया