राजनीति


अख्तियारलाई धरानका मेयरको जवाफ- उजुरी गर्ने त्यो को हो फटाहा? लेखिपठाउनुहोला!

अख्तियारलाई धरानका मेयरको जवाफ- उजुरी गर्ने त्यो को हो फटाहा? लेखिपठाउनुहोला!

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १४:१८, काठमाडौँ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले आफूविरुद्ध परेको उजुरीको विषयमा अख्तियारलाई जवाफ पठाएका छन्। धरानको खानेपानी बोर्डको विषयमा परेको उजुरीमा अख्तियारले उनलाई माघ २ गते जवाफ पठाउन पत्राचार गरेको थियो। 

मेयर साम्पाङले शुक्रबार अख्तियारको इटहरीस्थित कार्यालयलाई जवाफ पठाउँदै उजुरी गर्ने व्यक्तिको बारेमा जानकारी माग गरेका छन्। 

धरानको खानेपानी बोर्ड स्वायत्त निकाय निकाय भएकाले नगरबासीहरुलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जवाफ दिएका छन्। 

‘बिहान उठ्ने बित्तिकै टोइलेट जानु पर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ त्यो भनिरहन पर्दैन होला। केही छिन पछि भात पकाउनु परो। भात पकाउन पानी चाहिन्छ। भात खाए पछि हातमुख चुठ्नु परो त्यसको लागि नि पानी चाहिन्छ। जुठोभाँडा लडाइराख्न मिलेन धुनै परो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भएन धुनै परो। लुगा धुन नि पनि नभैनहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनु पर्छ र दैनिक नुहाउनु पर्छ भन्छ केही नजान्ने डब्ल्युएचओले। नुहाउनलाई नि पानी चाहियो,’ मेयर साम्पाङको जवाफ छ। 

‘यसो.. करेसाबारी र बगैँचा तिर नि पानी चाहिने नै भो। फेरि सुँगुर कुखुरा चौपायालाई नि पानी नखुवाई नहुने। त्यसो भएको हुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नै परो मैले, इन फ्याक्ट हाम्ले। त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भन्ज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै...घुमाउँदै घुमाउँदै...घुमाउँदै घुमाउँदै...घुमाउँदै घुमाउँदै लड्दै र पड्दै...तान्यो...तान्यो..एक्छिन है..बिस्तारै सुल्काउँ है.. भन्दै..ओहोइ भनूँ त.. भन्दै घरी घरी नाच्दै र गाउँदै पनि.. बिजोग रमाइलो गरी ल्याउँदैछौँ है ल्याउँदैछौँ,’ साम्पाङले अख्तियारलाई बुझाएको जवाफमा उल्लेख गरेका छन्। 

केन्द्र सरकारलाई कोसीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेको उनले उल्लेख गरेका छन्। 

उनले थपेका छन्, ‘जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ। आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के। त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ..खोइ कुरा बुझ्या। अब केन्द्र सरकारबाट तत्काल कोसीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरूको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ। एक दिन आउनु है मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न। कम्ता रमाइलो छैन।’ 

मेयर साम्पाङले आफ्नोविरुद्धमा उजुरी गर्ने व्यक्तिको बारेमा जानकारी गराउन पनि अख्तियारलाई भनेका छन्। 

‘त्यो वाइयत उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गन्यो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा’, सम्पाङले जवाफमा उल्लेख गरेका छन्। 

अख्तियारलाई राज्यको ढुकुटी खर्चेर बनाएको मेलम्ची, दमक टावर, एनसेल, वाइडबडि जस्ता कुरा तिर लाग्न तर श्रमदान अभियानको खेदो नखन्न उनले भनेका छन्। 

तिर्खाएका मानिसहरूको श्राप लाग्ने भन्दै पानीमा राजनीति नगर्न र पानी माग्न जनता अख्तियारतिरै आउलान् भन्दै उनले जवाफ लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad