पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा सक्रिय बनाउनकै लागि नेकपा माओवादी केन्द्रले उनलाई कम्तीमा चारवटा पदाधिकारी, स्थायी र केन्द्रीय समितिको बैठकमा सहभागी गरायो। पुस २१–२३ सम्म चलेको केन्द्रीय समिति बैठकमा त उनको आसन उपाध्यक्षकै लहरमा राखियो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि उपाध्यक्ष कृष्णबहादुर महरा र त्यसलगत्तै पुन बसे। त्यसपछि महासचिव देव गुरुङको सिट राखियो। उनलाई आमन्त्रित भनिएको थियो।
तर, स्थायी समिति र केन्द्रीय समिति बैठकमा गरिएको सिट व्यवस्थापनले नन्दबहादुर पुन उपाध्यक्ष नै हुन् भन्ने प्रष्ट भएको माओवादी नेताहरू बताउँछन्। यद्यपि, यसबारे अझैसम्म पार्टीले निर्णय नगरिसकेको उनीहरूको भनाइ छ। उनको वरीयता पनि प्रस्ट छैन।
माओवादीका सचिव देवेन्द्र पौडेलले पुन आमन्त्रित रूपमा बैठकमा उपस्थित भएको बताए।
‘जिम्मेवारीबारे केही निर्णय भइसकेको छैन,’ उनले भने।
एक पदाधिकारीका अनुसार पुनलाई पार्टीमा सक्रिय गराउने योजना अध्यक्ष प्रचण्डकै हो। उपाध्यक्ष नै बनाउने प्रतिबद्धता जनाएर उनलाई बैठकमा निम्त्याएको हो। प्रचण्ड यति हतारिएका थिए कि मंसिर यताका पदाधिकारी र स्थायी समिति बैठकमा नन्दबहादुर उपस्थित भइरहे।
पार्टीमा उपमहासचिव जनार्दन शर्माले समस्या पार्ने देखेपछि सन्तुलन मिलाउन उनलाई ल्याएको चर्चा माओवादीभित्र छ।
यही विषयमा उपमहासचिव शर्मा र वर्षमान पुन मिल्न सक्ने सम्भावना देखेका प्रचण्डले केही समय कुरेका थिए।
केन्द्रीय समितिमा आफ्नो प्रतिवेदन सर्वसम्मत पारित भएपछि र शर्मा लगायतका नेतासँग उच्च तहको समझदारी जुटेपछि प्रचण्ड नहतारिएको नेताहरू टिप्पणी गर्छन्।
नन्दबहादुरको वरीयता र जिम्मेवारी टुंगो नलागेकोले अरु नेताहरूको कार्यविभाजन पनि रोकिएको छ।
‘प्रचण्डले पार्टीभित्रको सन्तुलन मिलाउन सकिन्छ कि भनेर पासाङजीलाई अगाडि सार्नुभएको हो। रहरभन्दा पनि तानिएको हो,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘केन्द्रीय समितिको बैठकमा जनार्दन शर्मासँग नोकझोँक भएको भए त्यही बेला एउटा निर्णय भइसक्थ्यो। तर, शर्मा लगायतका साथीहरू अध्यक्षको प्रतिवेदनमा सहमत हुनुभएको जस्तो देखियो। त्यसो भएपछि उहाँलाई बीचैमा राखिएको अवस्था हो।’
तर, पुस २३ गते केन्द्रीय समिति बैठक समापन गर्र्दै प्रचण्डले नन्दबहादुर पुन आफैँ राजनीतिमा सक्रिय हुन खोजेको र आफूले नबोलाएको जवाफ दिएका थिए।
‘पासाङजी एउटा कार्ड हो। अध्यक्षले त्यही रूपमा प्रयोग गर्न चाहनुहुन्छ। त्यही कुराले पनि कार्यविभाजनमा समस्या भयो। उहाँ सरहको नेताको जिम्मेवारी के हुने भन्ने परेको छ। अध्यक्षले ड्याङ्गै निर्णय गर्न सक्नुभएको छैन,’ ती पदाधिकारीले थपे।
सचिव दीनानाथ शर्माले नन्दबहादुर पुनलाई पार्टीमा सक्रिय बनाउनेगरी बैठकमा सहभागी गराइएको बताए।
‘केन्द्रीय समितिमा बोल्ने साथीहरूले पासाङजीलाई पार्टीमा जिम्मेवारी दिँदा हुन्छ भन्ने खालको कुरा गर्नुभएको छ,’ शर्माले भने, ‘सांगठनिक रूपमा शक्ति परिचालित गरेर आएको, तलबाटै जिल्ला, क्षेत्रबाट उठेर केन्द्रीय समितिमा बसेर काम गरेको भएकाले सोही अनुसारको जिम्मेवारी दिन सकिन्छ।’
तर, केन्द्रीय समिति बैठक सकिएको १३ दिन बितिसकेको छ। अझै नेताहरू कसैको पनि कार्यविभाजन टुंगो लागेको छैन।
केन्द्रीय समिति बैठकलगत्तै प्रचण्ड देशव्यापी कार्यक्रम, विरोध सभामा सम्बोधन गर्न पुगेका छन्। उनकै कार्यव्यस्तताले ढिलाइ भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्याय बताउँछन्।
सम्भवतः अखिल क्रान्तिकारीको नयाँ नेतृत्व छान्ने चुनावअघि नेताहरूको जिम्मेवारी तोकिने सम्भावना न्यून छ।
क्रान्तिकारीको नयाँ नेतृत्वको लागि आगामी माघ ८ देखि चुनावी प्रक्रिया सुरु हुँदैछ। १२ गते मतदानको कार्यक्रम तय भएको छ।
‘कार्यविभाजनको गृहकार्य भइरहेको छ, धेरै अल्झन नआओस् भनेर पनि समय लागेको हो, अध्यक्षको पनि कार्यव्यस्तता बढ्यो यो बीचमा, अब विद्यार्थीको नयाँ नेतृत्व छान्ने चुनाव सकिएपछि मात्र नेताहरूको जिम्मेवारी तोकिएर पठाइन्छ होला,’ प्रचण्डनिकट एक नेताले भने।
नन्दबहादुरलाई सक्रिय गराउन नहुने आवाज पार्टीभित्रै उठेको छ। केन्द्रीय समिति बैठकमा सुदन किराती, इन्द्र आङ्बो लगायतका नेताले उपराष्ट्रपतिलाई सक्रिय राजनीति नगर्न सुझाव दिएका थिए।
‘सम्माननीय उपराष्ट्रपतिज्यू राजनीतिमा आउने हल्लाले समाजमा सकारात्मक सन्देश गएको छैन। पार्टीले सम्माननीयलाई अझ सम्माननीय बनाउनु सक्नुपर्छ,’ किरातीले बैठकमा भनेका थिए, ‘आलोचनाभन्दा माथि राखौँ, बरु पाठशाला बनाऊँ। हामीबाटै नयाँ परम्परा र संस्कृतिको आधार स्तम्भ खडा गरौँ। उदाहरणीय बनाऔँ १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौँ।’
यस्तै, आङ्बोले पनि नन्दबहादुर पुनलाई सक्रिय बनाउने कुराको विरोध गरे।
‘पूर्व ाष्ट्रपति/उपराष्ट्रपतिले राजनीतिक क्षेत्रभन्दा सामाजिक क्षेत्रको काम गर्नु पर्यो अमेरिका पूर्वराष्ट्रपति जिम्मी कार्टर जस्तो,’ उनले भने।
नेताहरू नै दुई कित्तामा देखिएपछि विवाद नहोस् भनेर माओवादीले उपाध्यक्ष पम्फा भुसालसहित उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेतलाई कार्यविभाजनको खाका बनाउन जम्मा दियो।
उनीहरूले २ गते साँझ बसेको पदाधिकारी बैठकमा कार्ययोजनासम्बन्धी खेस्रा विवरण पेस गरे, तर प्रचण्डले कुनै निर्णय गरेनन्।
‘हेडक्वार्टर र सम्बन्धित प्रदेशका इन्चार्जसँग छलफलकै क्रममा छ, त्यो कार्यविभाजन प्रस्ताव,’ प्रचण्ड निकट ती नेताले थपे।
सचिव शर्माले कार्यविभाजन भनेको ७७ वटै जिल्लामा कुनकुन केन्द्रीय सदस्य खटाउने, इन्चार्ज को राख्ने, प्रदेश इन्चार्ज को राख्नेजस्ता निर्णय गर्नुपर्ने भएकोले समय लागेको दाबी गरे।
‘केन्द्रीय समिति बैठकमा यसपटक हामीले कार्यविभाजन माथिबाटै गर्छाैँ भनेर भनेका थियौँ। त्यहाँ मोर्चा, विभाग, जिल्ला, प्रदेश, लगायतको जिम्मेवारी तोक्ने कुरा त्यति सहज थिएन। त्यही भएर कार्यदलले पेस गरेको छ। अब अध्यक्षले केही दिनमा टुंगो लगाउनुहुन्छ होला,’ शर्माले थपे।
सचिव देवेन्द्र पौडेलले कार्यविभाजन गर्दा विभाग र जनवर्गीय संगठनलाई सक्रिय बनाउन सुझाव दिएको बताए।
केन्द्रीय सदस्य आङ्बोले नयाँ पुस्तालाई अघि सार्न सुझाव दिएका छन्।
‘केन्द्रको पदाधिकारी सहित सिनियर नेतालाई वैचारिक, खोज अनुसन्धान र अभियानको जिम्मेवारी दिनुपर्छ,’ आङ्बोले भने, ‘नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिने काम गरौैँ।’
Shares

प्रतिक्रिया