राजनीति


नेता, मिडिया र जनता ठीक भए मात्रै देश बन्छ : अध्यक्ष केसी

नेता, मिडिया र जनता ठीक भए मात्रै देश बन्छ : अध्यक्ष केसी

नेपालखबर
पुस २२, २०८१ सोमबार २१:२५, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश ठीक हुन नेता, जनता र मिडिया तीनै तत्व सही हुनुपर्ने बताएका छन्।

प्रगतिशील पत्रकार संघ, नेपालको १८ औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको अवस्था बिग्रिनु र सप्रिनुमा यिनै तीनवटा तत्वहरू निर्णयक हुने बताएका हुन्।

ती तत्वहरू ठीक नभएकोले देशको अवस्था नाजुक बन्दै गएको केसीको भनाई थियो।

‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भने, ‘पहिला त नेता ठीक हुनुपर्‍यो। नेताले गल्ती गरे मिडियाले खबरदारी गर्नुपर्‍यो। अनि जनताले सजाय दिनुपर्‍यो। यी तीनवटै तत्व ठीक नभएसम्म देश बन्दैन।’

अध्यक्ष केसीले नेपालमा जनताले सही राजनीतिक दल र नेतालाई चिन्न नसक्दा देश अधोगतीतिर लागेको उल्लेख गरे।

पछिल्लो समय नेपाली राजनीतिमा पद र पैसाको लडाइँ भइरहेको बताउँदै ठूला दलहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप पनि लगाए।

संघीयता मुलुकको लागि घातक रहेको उल्लेख गर्दै यसलाई खारेज गर्नुपर्ने भन्दै देशले संघीयता धान्न नसक्ने केसीले दोहोर्याए।

उनले ठूला पार्टीलाई अहिले संघीयता घाँडो भइसकेको तर भन्न नसकेको अवस्था रहेको जिकीर गरे।

उनले आफ्नो दलले संघीयता खारेजीका लागि आउँदो चैत २४ देखि राजधानी केन्द्रित आन्दोलन गर्न लागेको जानकारी पनि दिए।

अहिले देशकै कार्यकारी प्रधानमन्त्री, राष्ट्र प्रमुख जहाँ गयो त्यहीँ ढुङ्गा हान्ने प्रवृत्ति बढ्दै जानु राम्रो अवस्था नभएको केसीको भनाई थियो।

प्रगतिशील पत्रकार संघलाई शुभकामना दिँदै केसीले मिडियाले निष्पक्षरुपमा कलम चलाएर गलत प्रवृत्तिलाई खबरदारी गर्नुपर्नेमा जोड दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad