राजनीति


प्रचण्डले भने– एकमत भन्ने हुँदैन, केन्द्रीय सदस्यले स्वतन्त्रतापूर्वक विचार राख्न पाउँछन्

प्रचण्डले भने– एकमत भन्ने हुँदैन, केन्द्रीय सदस्यले स्वतन्त्रतापूर्वक विचार राख्न पाउँछन्

नेपालखबर
पुस १८, २०८१ बिहिबार १८:२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यलाई ढुक्क भएर विचार राख्न दिने बताएका छन्। 

बिहीबार बसेको स्थायी समिति बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डा प्रस्ताव गर्दै बोलेका उनले केन्द्रीय समितिको धारणा नै पार्टीको धारणा हुने बताए।

आफूले राजनीतिक प्रतिवेदन लेखिरहेको भन्दै प्रचण्डले त्यसमा केन्द्रीय समिति बैठकमा सबैको भावना समेट्ने पनि भनाइ राखेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।

राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी कार्यक्रम र कार्ययोजना रहेको छ। 

‘राजनीतिक प्रतिवेदन तयार हुँदै छ, भोलि-पर्सि पूरा होला,’ ती पदाधिकारीले भने।

बैठकमा प्रचण्डको भनाइ थियो, ‘केन्द्रीय समितिको परामर्श बैठकमा साथीहरूले लिखित-मौखिक रूपमा दिएका सबै कुराहरूलाई समेटेर प्रतिवेदन तयार हुन्छ। त्यहीअनुसार प्रतिवेदन आउँछ। कसरी जाने, साथीहरूको सुझाव चाहियो।’

प्रचण्डले स्थायी समितिमा प्राप्त सुझाव र भएका निर्णय पनि अन्तिम नहुने पनि बैठकमा स्पष्ट पारेका थिए। 

‘मैले मोटामोटी आज राखेका विषयहरूमा कमरेडहरूलाई केही लागेको छ भने भोलि राख्नुहोला,’ प्रचण्डलाई उद्द्धृत गर्दै ती पदाधिकारीले भने, ‘अहिले यहाँ स्थायी समितिले निर्णय गरेर जाने कुरा हुँदैन। किनभने, तत्कालै केन्द्रीय समितिको बैठक छ। केन्द्रीय समिति सर्वेसर्वा हो। हामीले धारणा बनाएर जाने, अथवा स्थायी समितिमा एक मत भनेर त्यसरी जानुहुँदैन। त्यो बेठिक हुन्छ। त्यो लोकतान्त्रिक हुँदैन। हामी त्यहाँ पनि स्वतन्त्र हुन्छौँ। स्वतन्त्रतापूर्वक आफ्ना विचार राख्ने हो, छलफल गर्ने हो।’

केन्द्रीय समितिको धारणा नै पार्टीको धारणा हुने प्रचण्डको भनाइ थियो। 

‘अहिले हामीले केही सोच्दाखेरि यही धारणा बनाउने, अध्यक्षले यही भन्नुभयो, यही धारणा हो, भन्नेकुरा हुँदैन,’ अध्यक्ष प्रचण्डले भने, ‘केन्द्रीय समितिको धारणा नै हामी सबैको साझा धारणा हो। त्यसरी हामीले लोकतन्त्रलाई व्यवस्थित गर्न सक्छौँ।’

माओवादीले पुस २१ देखि केन्द्रीय समितिको बैठक बोलाएको छ। धुम्बाराहीमा रहेको एक पार्टी प्यालेसमा बस्ने बैठकमा ८५० भन्दा बढी सदस्य सहभागी हुनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad