राजनीति


एमालेको दसौँ महाधिवेशनमा केपी ओलीले यी १४ धाँधली गरेको भीम रावलको आरोप

एमालेको दसौँ महाधिवेशनमा केपी ओलीले यी १४ धाँधली गरेको भीम रावलको आरोप

फाइल तस्बिर: केपी शर्मा ओली र भीम रावल


नेपालखबर
पुस १७, २०८१ बुधबार २०:१६, काठमाडौँ

नेकपा एमालेबाट निकालिएको १० दिनपछि बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गर्दै ७४ प्रश्न गरेका छन्। 

यस क्रममा उनले २०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौँ महाधिवेशनका प्रसंग पनि उल्लेख  गरेका छन्।  

३१ पृष्ठको लिखित भाषणमा रावलले अध्यक्ष ओलीले आफू पनि अध्यक्षको उम्मेदवार बनेको दसौँ महाधिवेशनमा १४ किसिमका धाँधली गरेको आरोप लगाएका छन्। उनले यो कुरा बुँदा नम्बर ६३ मा उल्लेख गरेका छन्। 

उनले लिखित भाषणमा भेनका छन्-

६३. दसौँ महाधिवेशनमा निम्न लिखित धाँधलीका काम तपाईंकै निर्देशनमा भएका होइनन् र? 

६३.१ आचारसंहिताविपरीत मेरो विरोधमा सौराहा पुगेकै राति नाराबाजी गर्न लगाउने। खुला सभामा आफ्नो गुणगानमा मञ्चबाट नारा लगाउने र डकुमेन्टरी देखाउने। बन्दसत्रमा पनि त्यस्तै डकुमेन्टरी देखाउने। तर अध्यक्षको उम्मेदवार मलाई मन्तव्य राख्न नदिने र प्रचार गर्न नदिने। 

६३.२ विधान महाधिवेशनले तोकेको केन्द्रीय कमिटी र निकायका सदस्यको संख्या आफूअनुकूल संशोधन गर्ने। मंसिर ११ गते उम्मेदवारीको दरखास्तको काम गर्ने र १२ गते चुनाव गर्ने भनी गरिएको स्थायी कमिटीको निर्णयको उल्लंघन गर्ने। 

६३.३ आफ्ना गुटका चार नेतालाई लिएर छुट्टै होटलमा बसेर केन्द्रीय कमिटी सदस्यको सूची तयार गर्ने। 

६३.४ मतदानयन्त्रको कसरी उपयोग गर्ने भनी बन्दसत्रमा सबै प्रतिनिधिहरूलाई जानकारी गराउने पूर्वनिर्णयलाई लत्याउने। मतदानको दिनबाहिर राखिएका यन्त्रमा सिक्न जानेलाई स्वयंसेवक लगाएर आफूलाई मतदान गर्न भन्न लगाउने। 

६३.५ बाहिर मतदान गर्न पंक्तिबद्ध भएका प्रतिनिधिहरूलाई आचारसंहिता उल्लंघन गरी मतदानयन्त्रमा रहेको मतपत्र हुबहु मिल्ने पर्चा बाँड्ने। अर्को पर्चा बाँड्दै मलगायतका उम्मेदवारलाई भोट नहाल्न भन्ने। कार्यालय सचिवले मतदानयन्त्रमा रहेको मतपत्रको ढाँचा हुबहु मोबाइलमा पठाई मतदानका लागि प्रचार गर्ने। प्रतिनिधिहरूका बीच भीम रावल बागी उम्मेदवार भनी कुप्रचार गर्ने। मेरो पक्षमा बोल्ने र पत्रकारसँग कुरा गर्नेलाई हप्कीदप्की गर्नुका साथै प्रतिनिधिहरूलाई दबाबमा राख्ने। 

६३.६ उम्मेदवारहरूलाई दरखास्त फिर्ता लिन करबल गर्ने। केन्द्रीय सदस्यसमेतले महिलाहरूको हात पक्रेर हुल ल्याई दरखास्त फिर्ता लेऊ भनी घेराउ गर्ने। कतिपय उम्मेदवारलाई अलगै लिएर केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रलोभन दिने। 

६३.७ आफ्ना पक्षधरहरूलाई मतदानकेन्द्रभित्र खुलेआम पर्चा हेरेर मतदान गर्न लगाउने। त्यसप्रति विरोध जनाउनेलाई धम्की दिँदै तर्साउने। पर्यवेक्षक बनेकाहरूलाई मतदान गर्न लगाउने र विरोध गर्दा मतदान गर्न दिनुपर्छ भनी कार्यालय सचिवले दबाब दिने। 

६३.८ गुटको भेला गरी आफ्नो पक्षका उम्मेदवारलाई मात्र मतदान गर्न सिकाउने। शंका लागेकाहरूलाई मोबाइलमा दिएको मतको फोटो खिचेर ल्याउन भन्ने। 

६३.९ मतदान गरेको क्यामराले हेरिरहेको प्रचार गरी प्रतिनिधिलाई तर्साउने। सञ्चार सल्लाहकारले भित्र बसेर कम्प्युटर आफ्नो हातमा लिने। मतगणना गर्नुअघि मतदान अधिकृतको हातबाट कम्प्युटर खोस्ने। 

६३.१० धाँधलीबारे निर्वाचन आयोगलाई पटकपटक भन्दा पनि नसुन्ने। 

६३.११ बन्द सत्रमा भीम रावलाई गोद्नुपर्छ भन्दै बोल्दा हल्ला गर्ने। सुरक्षाकर्मीलाई भीम रावललाई सुरक्षा किन दिएको जागिर खाइदिन्छु भनी धम्क्याउने। 

६३.१२ केन्द्रीय पदाधिकारी र सदस्यको नाम मञ्चमा आफैँ कलम लिएर राख्ने र हटाउने। 

६३.१३ सबैको नाम घोषणा भइसकेपछि मैले बधाई दिन्छु भन्दा “मनमनै दिनु” भन्दै बोल्न नदिई तुच्छ र असहिष्णु व्यवहार गर्ने। 

६३.१४ महाधिवेशनपछि पनि मसँग कुनै संवाद नगर्ने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad