राजनीति


रास्वपामै फर्किन हारगुहार गर्दै मुकुल ढकाल

रास्वपामै फर्किन हारगुहार गर्दै मुकुल ढकाल

सागर न्यौपाने
पुस १७, २०८१ बुधबार २०:२४, काठमाडौँ

नेकपा एमालेले निष्कासन गरेपछि डा. भीम रावल नयाँ पार्टी खोल्दैछन्। पार्टी खोल्नुअघि उनले बुधबार (पुस १७) ‘मातृभूमि जागरण अभियान’ घोषणा गरे। देशदौडाहा गरेर पार्टी बनाउने उनको भनाइ छ।

एमालेमा पाँच दशक राजनीति गरेका रावल उपाध्यक्ष बनेका थिए। चितवनमा भएको दसौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीलाई उनले चुनौती दिएका थिए।

सर्वसम्मत अध्यक्ष बन्न बाधा पुर्‍याएको र चुनाव गराउनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै ओली रावलप्रति असन्तुष्ट थिए। 

त्यही अहंका कारण पार्टीका कुनै जिम्मेवारी नदिइएको र उल्टै पार्टीबाटै निष्कासन गरिएको रावलको भनाइ छ। ५० वर्ष कम्युनिस्ट राजनीति गरेर बुढेसकालमा पुगेका उनले उनले जीवनको उत्तरार्धमा गैरकम्युनिस्ट पार्टी बनाउने बताएका छन्।

लगभग रावलकै जस्ते नियति बेहोरेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले। भलै रास्वपाको इतिहास छोटो किन नहोस्।

पार्टी सभापति रवि लामिछानेविरुद्ध लागेको भन्दै उनी पनि निष्कासन परेका हुन्। ढकालले सार्वजनिक रूपमा सभापतिविरुद्ध अभिव्यक्ति दिएका थिए। रविको कार्यशैलीले पार्टी बन्न नसक्ने भन्दै रोष प्रकट गरे। गृहमन्त्री हुँदा समेत रविले काम गर्न नसकेको आरोप लगाए। 

‘ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकोले कारबाही गर्नुपरेको हो,’ रास्वपाका नेता मनिष झाले भनेको थिए। 

पुस १० गते एमालेबाट निकालिएका रावलले एक हप्तामै नयाँ पार्टी बनाउने घोषणा गरिसके।

जबकि, ढकाल रास्वपाका संस्थापक महामन्त्री थिए। रास्वपाको नामाकरण आफैँले गरेको उनको दाबी थियो। तर, पार्टीबाट  निकालेको ४ महिना बितिसकेको छ। उनले अन्य दल खोल्ने निर्णय गरेका छैनन्, बरु रास्वपामै फर्कन सभापति रवि लामिछाने, उनकी श्रीमती निकिता पौडेल र कार्यवाहक सभापति डोलप्रसाद ढकाल (डीपी)सँग जोडबल गरिरहेका छन्। 

‘मुकुलले रवि भेट्न निकै प्रयास गर्नुभयो, यता नसकेपछि निकिता भाउजूलाई पनि फोन गर्नुभयो। केही अरु नेतालाई समेत फोन गरेर भेट्ने वातावरण बनाइदिनु भन्नुभयो,’ निकट नेताले नेपालखबरसँग भने, ‘तर, उहाँलाई केही नेताले रोके।’

रवि निकट नेताहरू पनि मुकुलले पटकपटक भेट्न खोजेको र पार्टीमा फर्कने वातावरण बनाइदिन आग्रह गरेको स्वीकार गर्छन्। 

निकालिएका मुकुलको फेरि पार्टीमै फर्कने प्रयास
केही जिल्ला घुमेर प्रतिवेदन तयार पारेका ढकालले सभापति रवि सच्चिनुपर्ने तर्क गर्न थाले।  तर, पार्टी अनुशासनबाहिर गएको भन्दै असार २५ मा बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गर्‍यो। निर्णय चित्त नबुझे ३५ दिनभित्र पुनरवलोकन गर्न भन्दै समय दियो, तर ढकालले पुनरावेदन गरेनन् 

कारबाही वैधानिक नरहेको भन्दै उनले निर्वाचन आयोगमा निवेदन दिए। आयोगले यसबारे कुनै निर्णय गरिसकेको छैन।

भदौ ११ मा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्‍यो। पार्टीबाट हटाउनुअघि उनलाई दुईपटक स्पष्टीकरण सोधेको थियो। 

ढकालले दुवैपटक जवाफ पठाउँदा सभापति लामिछानेमाथि नैतिकताको प्रश्न उठाए। रास्वपालाई रवि क्लब बनाइएको भन्दै उनले असन्तुष्टि जनाए। पार्टीबाट निस्कासनमा परेपछि उनले आफू रवि क्लवबाट निकालिएको बताउँदै हिँडे। 

तर, केही महिना नबित्दै उनी पुनः रास्वपामा दाखिलाका लागि हारगुहार गरिरहेका छन्। कास्की प्रहरीको हिरासतमा रहेका रविलाई उनले त्यहीँ पुगेर समेत भेट्न खोजे। 

‘म एकपटक दाइसँग कुरा गर्छु, जतिबेर प्रहरीले दिन्छ, म कुरा गर्छु भनेर मुकुलजीले भन्नुभएको पनि हो,’ एक नेताले भने, ‘तर, उहाँ (रवि)ले रुचि देखाउनुभएन।’

यद्यपि अहिले उनी कार्यवाहक सभापति डीपीसँग भने संवादमै छन्। रवि पक्राउविरुद्ध रास्वपाका केही नेताले पोखरा लगायतमा आन्दोलन र प्रदर्शन गरेका थिए। पुस ७ गते रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दायर भयो। त्यसको थुनछेक बहस जारी छ। 

‘आन्दोलन गर्नभन्दा कानुनी रूपमा लड्दा मुद्दा बलियो बनाउन सकिन्छ भनेर दिएको सुझाव पार्टीले सुनेको छ,’ मुकुलको भनाइ उधृत गर्दै ती नेताले थपे। 

पार्टीमा हुँदा रविविरुद्ध चर्काे बोलिरहेका मुकुल त्यसयता मौन छन्। 

‘मुकुलले के भन्नुभएको छ भने– रविको विषय अदालत प्रवेश भएकोले उहाँ (रवि) गलत वा सही हो भनेर म बोल्दिनँ,’ ती नेताले भने, ‘तर, अहिलेको अवस्थामा हामीले पार्टीलाई बलियो बनाउन खोजनुपर्छ। त्यसमा मेरो भूमिका कसरी हुन्छ? म त्याग गर्न तयार छु भन्नुभएको छ।’ 

त्यसो त रविसँग दूरी बढाउन केही व्यक्ति लागेको महसुस गरेको मुकुलले बताएका छन्। 

‘पार्टीभित्र उहाँलाई मन नपराउने होलान्। सबै आआफ्ना स्वार्थमा छन्। उहाँको स्वभाव निरङ्कुश छ भनेर कुरा गरिरहेका छन्। उहाँले बैठकहरूमा जाँदा मोबाइल लैजान नदिने, जुत्ता खोलेर पठाउने गरेका थिए,’ रास्वपाका एक प्रदेश नेताले भने।  

मुकुल र रविबीचको संवादहीनता तोड्न केही नेता सक्रिय भएर लागेका छन्। झापाको पाँचजना नेताहरूले डोलप्रसादलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

‘महामन्त्रीमा मुकुललाई ल्याउनुपर्छ भन्ने होइन, मुकुल र रविको संवादहीनता तोडेर संवाद गराउनुपर्छ,’ ती नेताले भने, ‘भोलि प्रक्रिया पुर्‍याएर आउँछ भने उसलाई स्वागत गर्नुपर्छ भन्ने हो।’

आशा केन्द्रीय समितिको बिस्तारित बैठक
अब बस्ने केन्द्रीय समितिको बिस्तारित बैठकको एउटा एजेन्डा यो पनि हुनसक्ने आशा उनले राखेका छन्। किनकि सो बैठकमा प्रदेशका सभापति, महामन्त्री र जिल्ला भेला भएका सभापति पनि निम्त्याइएका छन्।  

रविलाई पक्राउ गरेको ५८ औँ दिन झापा जिल्लाका रास्वपाका नेताहरू कास्की हिरासत पुगेका थिए। उनीहरूले मुकुलको कारबाही फुकुवा हुनुपर्ने कुरा उल्लेख गरेर ज्ञापनपत्र बुझाएका थिए। 

ज्ञापनपत्र उपसभापति डीपी अर्यालले बुझेका थिए। उनले आगामी केन्द्रीय समिति बैठकमा यो एजेन्डाका रूपमा लैजाने प्रतिबद्धता जनाएको नेताहरू बताउँछन्। 

मुकुलको कारबाहीपछि पहिलोपटक केन्द्रीय समितिको बैठक आगामी पुस १९, २० र २१ गतेलाई बोलाइएको छ।

मुकुलको छातीमा घण्टीको लोगो 
आफूलाई भेट्न आउने नेतालाई मुकुलले घण्टीको लोगो लगाइरहेको देखाउने गरेका छन्। 

‘तपाईंहरूसँग छैन होला, मैले त छातीमा घण्टीको लोगो लगाएर हिँडेको छु,’ भेटेका एक नेताले मुकुलको भनाइ उधृत गर्दै भने, ‘मैले जन्माएको हो, माया छ। तर, त्यस्तै परिस्थिति आयो। मलाई पार्टीभित्रभन्दा पनि बाह्य तत्वहरूले खेले। प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ सकेर आइसकेपछि मुकुलले पार्टी फुटाउँदैछ भनेर गेम खेले, त्यसमा रवि दाइले कुरै नबुझीकन हो हो भनेर मलाई बाइपास गरे भनेर उहाँ (मुकुल) भन्नुहुन्छ।’

पार्टीको कोसी र मधेस समितिले उनलाई पुरानै जिम्मेवारीमा फर्काउनपर्ने भन्दै अपिल गरेको छ।

‘संवादहीनता तोड्न रवि दाइ पोजिटिभ हुनुहुन्थ्यो। पोजिटिभ नभइकन भाउजूले हुन्छ म गर्छु भन्नुहुन्नथ्यो। तर, अरुले रोकेको उहाँको बुझाइ छ,’ ती नेता भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad