राजनीति


गगन देउवातिर लाग्दा विश्वप्रकाश कोइरालातिर!

गगन देउवातिर लाग्दा विश्वप्रकाश कोइरालातिर!

सागर न्यौपाने
पुस १६, २०८१ मंगलबार २०:४१, काठमाडौँ

मिजासिलो शैलीमा प्रखर भाषण गर्ने नेताका रूपमा चिनिन्छन्, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा। उनको विशेषता हो– कसैको पनि चित्त नदुखाउने, नरम भाषाबाटै आफ्ना कुरा राख्ने। 

मंगलबार काठमाडौँमा भएको एक कार्यक्रममा भने उनले यो शैली पछ्याएनन्। उनले ठाडै पार्टी सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको भारी बोकाउन नहुने विचार राखे। 

पार्टीभित्र विकल्पमा योग्य नेता तयार रहनुपर्ने शर्माको भनाइ छ। 

उनको यो भनाइ आगामी ०८३ असारमा प्रधानमन्त्री बन्ने तयारी गरिरहेका देउवालाई रोक्नेगरी आएको छ। जबकि, कांग्रेस–एमाले गठबन्धन बनेको जम्मा ६ महिना मात्र भएको छ। ०८४ को चुनावसम्म गठबन्धन बनाउने र सरकारको नेतृत्व गरेर चुनावमा जाने योजनामा देउवा छन्।

‘सभापतिजी विस्तारै रिटायर्ड हुने क्रममा हुनुहुन्छ, शर्माले भने, ‘विधानअनुसार अब उहाँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनुहुन्न, पाँचपटक प्रधानमन्त्री भइसक्नुभयो।’  

तर, नयाँ प्रधानमन्त्री बन्न कोही तयार नभएको शर्माको भनाइ छ।  

‘पाँचचोटि प्रधानमन्त्री भएका सभापतिजीलाई गाह्रो भइसकेको होला, म भारी बोकिदिन्छु भनेर सुरिनेको पार्टीमा अभाव देखिरहेको छु,’ शर्मा भन्छन्, ‘दिएदेखि खाउँला भन्ने हुँदैन, म बन्छु प्रधानमन्त्री भनेर दृढतापूर्वक उभिन सक्नुपर्छ।’ 

उनले आफू मन्त्री पनि नभएकोले प्रधानमन्त्रीको दौडमा नरहेको प्रष्ट पारे। 

कांग्रेसमा प्रधानमन्त्रीका एकसे एक दाबेदार छन्। महामन्त्री गगन थापादेखि उपसभापतिहरू पनि प्रधानमन्त्रीका दाबेदार हुन्।

कांग्रेसको २०७९ पुस ६ गते संसदीय दल नेताको चुनाव भयो। देउवासँग थापाले प्रतिस्पर्धा गरे। उनलाई शर्मा र  प्रदीप पौडेलले सहयोग गरे। तर, उनी पराजित भए।

त्यसयता देउवासँगको प्रतिस्पर्धामा थापा देखिएका छैनन्। पछिल्लो दिन उनी सभापति देउवासँग मिलेरै काम गरिरहेको नेताहरू बताउँछन्। 

सरकारको काम कारबाही सफल पार्ने, नीति तथा कार्यक्रम बनाउने र देउवालाई साथ दिएर गठबन्धन जोगाउने भूमिकामा उनी सक्रिय छन्।  

महामन्त्री शर्माले प्रधानमन्त्री बन्न हिम्मत गर्नु भनेर कसलाई भनेका हुन त? उनको अभिव्यक्तिबारे कांग्रेसभित्र अनेक अनुमान र अनेक अड्कलबाजी भइरहेको छ। कतिपय नेता उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई भनेको हुनसक्ने बताउँछन्। 

तर, कांग्रेसका केही नेताहरूले गगन देउवातिर लागेपछि विश्वप्रकाश शेखरसँग मिल्न लागेको र उनको भनाइ शेखरतिरै लक्षित रहेको बताए।

‘उहाँ शेखर कोइरालासँग सन्तुलन मिलाउन खोज्दै हुनुहुन्छ। गगनले आरजुसँग र विश्वप्रकाशले शेखरसँग मिलाउन खोज्दै हुनुहुन्छ,’ कांग्रेसका एक नेताले भने, ‘विश्वप्रकाशजी जादुगर हो। उहाँले रातिराति शेखरलाई भेट्नुहुन्छ र म तपाईंसँग हुन्छु भन्नुहुन्छ।’

कोइराला पक्षधर नेताले पनि शर्माले पछिल्लो दिन सम्पर्क बढाएको र एक्लाएक्लै भेट गरेको बताए। 

शेखरको लक्ष्य सभापति 
कांग्रेस नेतालाई महाधिवेशन लागिसकेको छ। उनीहरूले जिल्ला दौडाहा थालेका छन्। त्यसैमध्येका एक हुन्– कोइराला। 

संसदीय दलको नेता बन्न भित्रभित्र प्रयास गरेका उनले अहिलेसम्म बहुमत संख्या पुर्‍याउन भने सकेका छैनन्। त्यही भएर अहिले उनको प्राथमिकता बदलिएको छ। 

‘शेखरजी प्रधानमन्त्री होइन, पार्टी सभापतिको तयारीमा हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने। 

प्रधानमन्त्रीको लागि गणित पुर्‍याएर संसदीय दलको नेतृत्व गर्नुपर्छ। अहिलेको अवस्थामा दलको नेता बन्न सम्भव नहुने कोइराला पक्षले निचोड निकालेको छ।

‘संसदीय दलको नेता बन्न र प्रधानमन्त्रीको तयारी गर्न अहिलेको गणितले सम्भव देखिन्न,’ ती नेताले थपे, ‘किनभने, जति नै प्रयास गर्दाखेरी पनि नम्बर पुर्‍याउन कठिन छ। गगन थापालाई २५ जनाले मत दिएका थिए, हामीले जति नै मेहनत गरे पनि १० बढाउला, त्यसो गर्दा ३५ हुन्छ, हामीलाई चाहिएको ४५ हो। संसदीय दलमा शेरबहादुर देउवाजी नै बलियो हुनुहुन्छ।’

कोइरालाको देश दौडाहा जारी छ। ४० बढी जिल्ला  पुगिसकेका उनी गाउँपालिकाका कार्यक्रममा समेत पुग्न थालेका छन्।  

‘अब सभापति हुन बलियोगरी जानुपर्छ, किनकि भोलि निर्वाचन जित्नुपर्छ,’ कोइराला पक्षीय अर्का नेताले भने,  ‘त्यही भएर भरसक धेरैलाई मिलाएर जाँदा राम्रो हुन्छ, कांग्रेसमा सबैलाई मिलाउने नेतृत्व यही नै हो भन्ने सन्देश लिएर जाने हो।’ 

‘तर, यो देशलाई निकास दिएर बचाउन र पार्टीको छवि जोगाउन पर्ने अवस्था आयो भने उहाँ प्रधानमन्त्री लिन अगाडि बढ्नुहुन्छ। उहाँ जुनसुकै बेला ‘रेडी फर गभर्मेन्ट’ हो। कांग्रेस पार्टीभित्रै विकल्पको लिडरमा देखिनुभएको छ। अहिलेसम्म सरकारमा गएर कुनै दाग नलागेको र फ्रेस नेता हो।’

कोइरालाले देउवा पक्षका सांसद वा केन्द्रीय सदस्य आफूतिर तान्ने काम जारी राखेका छन्।

‘विश्वप्रकाशजी शेखरसँग नजिक हुनुहुन्छ। गगन थापाले पनि हुन्न भन्नुभएको छैन। गगन–शेखर मिलेर जानुपर्छ र मिल्छन् नै भन्ने लागेको छ,’ अर्का नेताले दाबी गरे, ‘प्रदीप पौडेलजी पनि शेखरजीसँगै हुनुहुन्छ। मन्त्री बनाउने पहल त शेखरजीकै हो नि।’

तर, महामन्त्री थापा पनि सभापतिमा लड्दैछन्। उनले देउवाको समेत विश्वास जित्ने कोसिस जारी राखेका छन्।

त्यही भएर थापाको बोली पनि आजकल देउवाकै जस्तो सुनिन थालेको छ।

‘पार्टीको मञ्चमा आजभोलि हेर्छु, जहाँ पनि बहस, छलफल केमा भइरहेको छ? कि हामी २०८४ को चुनावको कुरा गर्छौं, कि हामी महाधिवेशनको कुरा गर्छौं,’ थापाले भने, ‘छोड्दिऊँ। १५ औँ महाधिवेशन हुन्छ। १२ औँ, ११ औँ, १० औँ भएको छ भने अरु किन हुन्न? रुवाबासी किन गरिरहेका छौँ? महाधिवेशन हुन्छ कि हुँदैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad