प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको शेरा दरबार प्रकरणमा आफ्नो पार्टीलाई अनावश्यक जोडेर झुटो प्रचार गरेको दाबी गरेका छन्।
प्रचण्डको सचिवालयमा रहेका विकेश श्रेष्ठले उक्त दरबारको जग्गा आफ्नो नाममा लिएको भन्दै त्यसमा माओवादीकै संलग्नता भएको दाबीसहितको समाचार कतिपय संचार माध्यमले सार्वजनिक गरेका थिए। प्रचण्डले सोमबार झापामा आयोजित माओवादी जनसभालाई सम्बोधन गर्ने क्रममा त्यसबारे टिप्पणी गरेका हुन्।
‘अनौंठो खालको प्रचार हिजो–अस्तिबाट तपाईंले सुन्नु भएको पनि होला,’ उनले भने, ‘हाम्रो पार्टीबाट झण्डै १२, १५ वर्ष अगाडि पार्टी छोडिसकेको मान्छेको जग्गाको बिषयलाई लिएर माओवादीसँग बसेको मान्छेको जग्गा रहेछ यो भनेर सेरा दरबारको कुरा ल्याइएको छ।’
प्रचण्डले सरकारको जग्गा भए त्यसलाई तुरुन्त सरकारका नाममा ल्याउन आग्रह गर्दै अन्यथा झुटो प्रचार नगर्न समेत चेतावनी दिए। ‘म चुनौतीका साथ भन्न चाहान्छु ओली सरकारलाई– शेरा दरबारको जग्गा सरकारको हो भने तुरुन्तै सरकारका नाममा ल्याउ’, उनले भने, ‘मेरो पुरै साथ हुनेछ तिमीहरुलाई। तर, झुटो प्रचार गरेर राजनीतिमा बेइमानीको प्रदर्शन नगर पनि भन्न चाहान्छु।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारमा नाम जोडिएका आफ्नै पार्टीका नेताहरुविरुद्ध समेत अनुसन्धान गराएको दाबी गरे।
Shares

प्रतिक्रिया