राजनीति


बालुवाटारमा संयन्त्रको बैठक, संविधान संशोधनको एजेन्डाले प्रवेश पायो

बालुवाटारमा संयन्त्रको बैठक, संविधान संशोधनको एजेन्डाले प्रवेश पायो

नेपालखबर
पुस ९, २०८१ मंगलबार १८:१६, काठमाडौँ

सरकारका काम कारवाही प्रभावकारी बनाउन गठन गरिएको कार्यदल बैठकमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने एजेन्डा प्रवेश गरेको छ।

मंगलबार अपराह्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा चलेको बैठकमा संविधान संशोधन गरेर जानुपर्ने विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन्। साथै, संशोधनको लागि कार्यदलमा राख्ने नाममाथि समेत चर्चा भएको एक नेताले बताए।

सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन गठन गरिएको कार्यदलमा रहेका केही नेतालाई लिएर संविधान संशोधनको खाका बनाउन छुट्टै कार्यदल बनाउने तयारी समेत छ। ‘तीनबजेदेखि बसेको कार्यदलको बैठक अहिलेपनि जारी छ,’ एक नेताले नेपालखबरसँग भने, ‘मुख्य विषय संविधान संशोधनको लागि कार्यदलमा रहने नाममाथि छलफल भएको छ।’

यस्तै, सरकारको काम कारबाहीको समीक्षा पनि भएको छ। सरकारले तीव्रता दिनुपर्ने विषयमाथि सुझाव पनि आएको अर्का नेताले जानकारी दिए। 

संयन्त्र कार्यदलमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा छन् भने एमालेबाट वरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्। 

असार १७ गते गठबन्धन बनाउने सहमति गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साना दलहरुका कारण अस्थिरता निम्तेको भन्दै संविधान संशोधन गर्नेसहित ७ बुँदामा हस्ताक्षर भएको थियो। 

सरकार गठन गरेको लामो समय मुख्य एजेण्डामा प्रवेश नगरेको भन्दै चौतर्फी विरोध हुन थालेपछि संविधान संशोधनको विषयमा छलफल गर्ने निष्कर्षमा पुगेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

केहीदिनअघि मात्र पनि कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका थिए। यस्तै, मंगलबार गृहमन्त्री रमेश लेखकले पनि संविधान संशोधन गर्न कार्यदल बनाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad