राजनीति


कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिसको व्यवस्था मिलाउन सुझाव समिति गठन

कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिसको व्यवस्था मिलाउन सुझाव समिति गठन

नेपालखबर
पुस ९, २०८१ मंगलबार १७:५९, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधि सुझाव समिति गठन गरेका छन्।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य छन्।

गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य सचिव तोकिएको छ।

समितिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधिको सिफारिस गर्नु पर्दा अनिवार्य रुपमा जेनेरिक नाम लेख्नका लागि सरल ढाँचासहितको कार्यविधि तर्जुमा गर्न कार्यादेश दिइएको छ।

यसैगरी, अन्य अस्पतालहरुमा जेनेरिक औषधिको नाम लेख्नका लागि गरिएका अभ्यास अध्ययन गरी एक महिनाभित्र सिफारिस गर्नसमेत भनिएको छ।

समितिले अस्पतालको फार्मेसीमा सबै किसिमका गुणस्तरीय औषधि सुपथ तथा सरल मूल्यमा नागरिकले पाउने व्यवस्था मिलाउन सुझाव समेत दिने छ।

समितिबाट प्राप्त सुझावका आधारमा निर्णय गर्ने मन्त्री पौडेलको तयारी रहेको उनको निजी सचिवालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य सेवा ऐन २०२५ मा भएको व्यवस्था लागू गराउने उद्देश्यका साथ समिति गठन गरिएको जानकारी दिए।

ऐनमा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले औषधिको सिफारिस गर्नु पर्दा जेनेरिक नाम लेख्नु पनेछ’ भनी उल्लेख गरिएको छ।

तर, कार्यान्वयनमा नआउँदा अहिले चिकित्सकहरुले औषधिको ब्राण्ड नाम लेख्ने र सोही नामका औषधि किन्नुपर्ने बाध्यता छ।

जेनेरिक औषधि सिफारिस गर्न सकिएमा सोही कम्पनीको सुपथ मूल्य खरिद गर्न उपभोक्तालाई सहज हुने विश्वासका साथ ऐनमा भएको व्यवस्था लागू गराउन मन्त्री पौडेलले सक्रियता देखाएको प्रवक्ता बुढाथोकीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad