राजनीति


प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

नेपालखबर
पुस ५, २०८१ शुक्रबार १९:२४, दाङ

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन्।

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताए।

‘पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन्। अब अन्तिम चरणका काम बाँकी छन्’, उनले भने, ‘त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन्।’

यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो। आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए। उनका अनुसार भ्याटबाहेक रु तीन अर्ब नौ करोड एक लाख २९ हजारमा शर्मा सगुन जेभी काठमाडौँले यहाँ निर्माणको काम गरिरहेको छ।

विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो। दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो। मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो।

त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे।

‘सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन गर्यौँ। त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ’, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने।

राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो।

हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ। ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन्। उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ। यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad