नेकपा (एकीकृत समाजवादी)को साताव्यापी लामो स्थायी कमिटी बैठक पार्टी नेताहरुको कार्यविभाजन गर्दै सकिएको छ। कार्यविभाजनको प्रारम्भिक प्रस्ताव भने महासचिव घनश्याम भुसालले गरेका थिए।
त्यसमा लामो छलफल र हेरफेर गरेर बैठकले कार्यविभाजन टुंग्यायो। तर, कार्यविभाजनको प्रस्ताव ल्याएका महासचिव भुसाल आफैं भने त्यसबाट पूर्ण सन्तुष्ट हुन सकेनन्। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार उनी पार्टीमा प्रभावशाली मानिने संगठन विभाग प्रमुखको आकांक्षी थिए।
तर, अध्यक्ष माधवकुमार नेपालले यो विभाग पूर्व महासचिव वेदुराम भुसालाई दिए। घनश्यामले भने अनुगमन विभागको जिम्मेवारी पाए। ‘पहिले उहाँले त्यो विभाग लिन बल गर्नु भएको थियो,’ ती पदाधिकारीले भने, ‘तर, महासचिवलाई अनुगमन नै ठिक हो भन्ने कुरामा बैठकले उहाँलाई कन्भिन्स गर्यो।’
एकीकृत समाजवादी स्थापना गर्दा भने घनश्याम विभाजनको विपक्षमा उभिदै नेकपा एमालेमै रहेका थिए। त्यतिबेला वेदुराम एकीकृत समाजवादीको संस्थापक महासचिव बनेका थिए। तर, एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत बढ्दै गएपछि उनले पार्टी छोडे।
एमाले छोडेपछि स्वतन्त्ररुपमा चुनाव लडेका घनश्याम २०७९ पुस २९ मा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। त्यसपछि वेदुरामलाई उपाध्यक्ष बनाएर घनश्यामलाई महासचिवको जिम्मेवारी दिएको थियो।
गत असारमा सम्मपन्न एकीकृत समाजवादीको महाधिवेशनमा उनले अध्यक्षमा दावी गरेका थिए। तर, सहमतिमा उनलाई महासचिवकै जिम्मेवारी दिइएको थियो।
Shares

प्रतिक्रिया