राजनीति


भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिएनन् : प्रधानमन्त्री ओली

भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्रै कारबाही हुनेगरी बनाइएको विधेयक पास गर्न दिएनन् : प्रधानमन्त्री ओली

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १५:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन्।

आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाइए पनि ऐन पास गर्न नदिइएको बताएका हुन्।

भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताए।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा भ्रष्टाचारको मुद्दामा अब उजुरी अल्झाएर ५० सौँ वर्षसम्म पनि मुद्दा चलाउन नपर्ने गरी विधेयक बनाइएको बताए। भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनपर्ने उनको भनाई छ।

उनले भने, ‘अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्यो। के बिगार्नुपर्यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन। अहिले पनि १०/१५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै छन्। त्यसकारण हामीले के भन्यौँ भने १५/२० वर्ष अगाडिका उजुरीहरु त्यत्तिकै राखेर बस्न पाइँदैन। भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ। यस्तो हुनु हुँदैन। त्यसकारण ढिलोमा पनि ५ वर्षभित्र भ्रष्टाचारको उजुरी परेको ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ भनेर, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा गर्‍यौँ। ५ वर्षमा पनि कारबाही नचलाउने, ए पाँच वर्ष छोडिदिने भनेर कुरा गरे। छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसे कम कारबाही टुंग्याएको हुनुपर्छ। चलाएको हुनुपर्छ, हामीले त्यो भनेको हो । ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए।

उनले कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अब जहिले मुद्दा उजुरी परेको २० वर्ष ५० वर्षपछि जहिले हेरेपनि हुन्छ, नहेरेपनि हुन्छ। किनभने जनताले त्यही भन्यो, लहैलहै त्यही चल्यो, हुइँया त्यही मच्चियो। हामीले त्यही पास गरिदियौँ। ५ वर्षसम्म पनि कारबाही नगर्ने, हल्लै हल्लाहको देश भएपछि। हल्लै हल्लामा चलेपछि। के गर्ने? ५ वर्ष हटाउ। उजुरी परेपछि तत्काल कारबाही गर्नुपर्दछ। कथं कदाचित ढिलो भएपनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्छ। त्यसलाई लम्ब्याएर त्यत्तिकै छोडिदिन पाइँदैन।’

प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए। सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad