राजनीति


एमाले बैठकमा चीन भ्रमणबारे ओली बोलेनन्, रिमालले दिए ४० मिनेट व्याख्यान्

एमाले बैठकमा चीन भ्रमणबारे ओली बोलेनन्, रिमालले दिए ४० मिनेट व्याख्यान्

एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली।


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार २१:४८, काठमाडौँ

स्थानीय तहको उपनिर्वाचन र चीन भ्रमणको समीक्षाका लागि बोलाइएको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेका छन्। खासगरी चीन भ्रमणको विषयमा उनले आफूले नबोली मुख्य सल्लाहकार एवं उपमहासचिव विष्णु रिमालले जानकारी दिन भने।

त्यसपछि रिमालले करिब ४० मिनेट चीन भ्रमणको व्याख्यान् दिए।

उनले चीनमा प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डललाई ‘राम्रो रेस्पोन्स’ भएको र भ्रमण उपलब्धिमूलक रहेको सुनाए। 

‘भ्रमण उत्साहनजक भयो। धेरै राम्रो रेस्पोन्स गरे। सहयोग पनि राम्रै घोषणा भएको छ,’ रिमाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने।

बीआरआई सहकार्य प्रेमवर्कसहित ११ वटा दस्तावेजमा हस्ताक्षर हुनु, चीनबाट बजेटरी र प्राविधिक सहायता गरी ११ अर्बभन्दा बढीको प्रतिबद्धता पाउनु र पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्रीले मुख्य वक्ताका रूपमा प्रवचन दिनुलाई उनले मुख्य उपलब्धिका रूपमा सुनाएका थिए।

ओलीले मंसिर १७ देखि २० सम्म चीन भ्रमण गरेका थिए। यो उनको यस कार्यकालको पहिलो द्विपक्षीय औपचारिक भ्रमण हो। उनका मुख्य सल्लाहकार रिमाल पनि भ्रमणमा साथै थिए।

प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिमण्डलबीच मंसिर १८ गते द्विपक्षीय औपचारिक वार्ता भएको थियो। उक्त वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न परियोजना तथा वाणिज्यसम्बन्धी ९ वटा दस्तावेजमा हस्ताक्षर तथा पत्र आदान–प्रदान भएको थियो।

त्यही साँझ नेपाल र चीनले प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए। भ्रमणको तेस्रो दिन मंसिर २० गते बेल्ट एवं रोड सहकार्य फ्रेमवर्क (फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन) मा हस्ताक्षर भएको थियो, जुन परराष्ट्र मन्त्रालयलले मंगलबार सार्वजनिक गरिसकेको छ।

 एमाले सचिवालय बैठक च्यासलमा। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

‘प्रधानमन्त्रीले चीन भ्रमणबारे खासै बोल्नुभएन,’ एमाले केन्द्रीय सचिवालयका एकजना सदस्यले नेपालखबरलाई भने, ‘उहाँले जानकारी दिनुहुन्छ भनेर विष्ण रिमालतिर सोझ्याउनुभयो। करिब ४० मिनेट रिमाल कमरेडले बेलिविस्तार लगाउनुभयो।’

ती सदस्यका अनुसार, बेल्ट एवं रोड सहकार्य फ्रेमवर्कमा कांग्रेसलाई समेत मनाएर हस्ताक्षर गर्नु महत्त्वपूर्ण उपलब्धि भएको रिमालले बताएका थिए। त्यस्तै सुरुमा २ अर्ब रुपैयाँबराबरको मात्र आर्थिक सहायता दिने कुरा चलेको तर पछि गएर रकम बढाएर करिब १२ अर्ब पुगेको जानकारी दिए।

चीन सरकारका तर्फबाट २०७२ सालदेखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग करिब २ अर्ब ७० करोडका दिने प्रतिबद्धता भएको थियो। पति प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा राष्ट्रपति सी चिनफिङले थप अनुदान ९ अर्ब ३४ करोड घोषणा गरेका थिए।

प्रधानमन्त्री ओली आइतबार आफ्नो गृहजिल्ला झापा गएका थिए। त्यहाँ दमक टावर उद्घाटनदेखि विभिन्न कार्यक्रममा सहभागी भए। ठाउँठाउँमा भाषण र भेटघाट पनि गरे। आज फर्किँदासम्म उनी निकै थकित देखिएका थिए। ४ बजे बोलाइएको बैठकमा उनीसहितको टोली ५ बज्नै लाग्दा पार्टी मुख्यालय च्यासल पुगेको थियो।

‘काठमाडौँको नतिजा राम्रो संकेत होइन’
बैठकको अर्को एजेन्डा स्थानीय तह उपनिर्वाचनसम्बन्धी थियो। काठमाडौँ उपत्यकाबाहिर केही सिट गुमाएर केही थप जितेकोमा सन्तोष गर्ने ठाउँ भए पनि समग्रमा यस चुनावले राम्रो संकेन नगरेको निष्कर्ष एमालेले निकालेको छ।

खासगरी काठमाडौँ महानगरपालिका वडा नं १६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्ष गरी ४ सिटमा भएको नतिजालाई जनाउ घन्टीका रूपमा लिनुपर्ने नेताहरूले बताएका थिए।

‘काठमाडौँ र कीर्तिपुरमा हामीले किन हार बेहोर्नुपरेको हो? त्यसको उचित समीक्षा गरी कारण खोज्नुपर्छ भन्ने कुरा भएको छ,’ ती पदाधिकारीले भने, ‘यो सामान्य हार होइन। यसले राम्रो संकेत गरेको छैन।’

मंसिर १६ गते विभिन्न स्थानीय तहका ४४ सिटमा चुनाव हुँदा कांग्रेसले १९, माओवादीले ११ र एमालेले ८ स्थान जितेको थियो।

बैठकको समापनपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निष्कर्षसहित धन्यवाद ज्ञापन गरेको बताए।

उनका अनुसार, अन्य सम्झौताका अतिरिक्त बीआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्त्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ। सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बीआरआईलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र बाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन र राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको उनले बताए। अब दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ।

स्थानीय तह उपनिर्वाचनमा एमालेले थप उपलब्धि हासिल गरेको तर सहरी क्षेत्रको जनमत परिवर्तनलाई गम्भीर रूपमा लिएको ज्ञवालीले बताए।

उनले भने, ‘हामीले जितेका ७ वडाध्यक्षका पद रिक्त भएका थिए। एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हासिल गरेका छौँ। तर यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ। खासगरी कीर्तिपुर नगरपालिका, काठमाडौँ १६ लगायत केही सहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ। सहरी जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेका छौँ। सँगै यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ। मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ।’

सामाजिक सञ्जालहरूको दुरुपयोग गर्दै मिथ्या प्रचार गर्दै जनतामा निराशा फैलाउने, भ्रम फैलाउने र कतिपय राजनीतिक दलका नेताहरूले आफ्नो क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई समेत बढावा दिने गरेको देखिएको पनि उनले बताए।

‘त्यो प्रवृत्ति किमार्थ उचित होइन । त्यस्तो अराजक प्रचारले कसैलाई लाभ दिँदैन,’ उपमहासचिव ज्ञवालीको भनाइ थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad