संसद्का दुई समितिको बैठक आज बस्दैछ।
संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः१५ बजेका लागि बोलाइएको छ।
समितिले आज सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।
समितिले अघिल्लो बैठकबाट संशोधनकर्तासँग छलफल थालेको हो। समिति स्रोतका अनुसार आइतबारको बैठकमा ४० जना संशोधनकर्तालाई बोलाएकोमा ४ जना मात्रै उपस्थित भएपछि समितिले उनीहरूसँग छलफल गरेको थियो।
यस्तै, आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
समितिले संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययनका लागि केही समयअघि उपसमिति गठन गरेको थियो।
Shares

प्रतिक्रिया