सर्बियाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संकटकाल लगाएको छ।
राष्ट्रपति अलेक्सान्द्र वुचिचले चीनको सहयोग मागेका छन्। स्वास्थ्य उपकरण नदिएको भन्दै उनले युरोपेली संघको चर्को आलोचना पनि गरे।
आइतबार साँझ पत्रकार सम्मेलनमा वुचिचले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र पठाएको बताए।
‘मैले राष्ट्रपति सीलाई पत्र पठाएको छु। पत्रमा मैले पहिलो पटक औपचारिक रुपमै उनलाई प्रिय मित्र मात्र होइन दाजु पनि भनेको छु। मैले उनलाई व्यक्तिगत मात्र होइन यो देशको मित्र र भ्राता पनि भनेको छु,’ वुचिचले भने।
‘मैले चीनलाई हरेक थोक पठाइदिन भनेको छु। डाक्टर पनि। किनभने हाम्रा डाक्टर पहिले नै थाकिसकेका छन्,’ उनले थपे।
युरोपेली संघले आइतबार स्वास्थ्यसम्बन्धी उपकरण निर्यातमा प्रतिबन्ध लगाएको थियो।
‘तपाईंहरूलाई थाहा छ, आजबाट हामीले सामान आयात गर्न नपाउने निर्णय युरोपेली संघले गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्सुला भोन देर लेनले अस्ति नै भनिसकेकी थिइन्, हामी युरोपेली युनियनअन्तर्गतका मुलुकबाट स्वास्थ्य उपकरण पनि ल्याउन सक्दैनौँ,’ उनले भने, ‘तिनै मानिस फेरि हामीलाई चिनियाँ सामग्री किन्नु हुँदैन भनेर लेक्चर पनि दिन्छन्।’
संकटकाल घोषणा गर्दै सर्बियाले कूटनीतिज्ञबाहेक सम्पूर्ण विदेशीलाई मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ।
सोमबारसम्ममा सर्बियामा ५५ जना संक्रमित भइसकेका छन्। एजेन्सी

प्रतिक्रिया