राजनीति


मोदीको ‘ताप’ र माझीको ‘प्रताप’ बाट माओवादीले अध्यक्ष जितेको ग्रामथान

मोदीको ‘ताप’ र माझीको ‘प्रताप’ बाट माओवादीले अध्यक्ष जितेको ग्रामथान

सागर न्यौपाने
मंसिर १७, २०८१ सोमबार १५:३३, काठमाडौँ

गएको भदौ अन्तिम साता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वका केही जिल्ला भ्रमणमा निस्कए।

प्रधानमन्त्रीबाट हटेको केही समयपछि भएको उनको पूर्वको भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको थियो। नभन्दै २ दिनको बसाइमा उनले मोरङ र सुनसरी जिल्लाका विभिन्न ठाउँमा सर्वसाधारणसहित पार्टीका नेता कार्यकर्तासँग भेट गरे र पूर्वमा माओवादीको अवस्थाको बारेमा जानकारी लिए।

त्यसैक्रममा मोरङ जिल्ला कमिटीले आयोजना वृहत कार्यक्रम आयोजना गरेको थियो। सरकारबाट भर्खरै बाहिरीनु पर्नाका कारण त उनले खुलाए नै सँगसँगै मोरङको ग्रामथान गाउँपालिकाका चर्चित एक व्यक्तिलाई पार्टीमा पनि भित्र्याए।

उनी थिए- नमोनारायण माझी।

ग्रामथानमा २६ वर्षदेखि राजनीति गरिरहेका उनी स्थानीयमाझ लोकप्रिय थिए।

२०५४ सालमा सोही गाविस अध्यक्ष निर्वाचित भएका उनी २०७४ मा पहिलोपटक भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भए। 

त्यसपछि २०७९ फेरि सोही वडामा उठ्न खोजे। तर, यसपटक कांग्रेसले उनलाई टिकट दिएन। उनी जसरी पनि चुनाव लड्न अड्डी लिए। तर पार्टीले सुन्दै सुनेन।

अनि स्वतन्त्र चुनाव उठे र आफ्नै मूलपार्टी कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी बने। 

उनै माझी ३१ महिनामै ग्रामथान गाउँपालिकाको अध्यक्षको कुर्सीमा बस्न सफल भएका छन्।

रोचक त, वडाध्यक्ष टिकट नदिने कांग्रेसकै उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै उनी २९ महिनाका लागि पालिका अध्यक्ष बन्न सफल भएका छन्।

माझीले ६ हजार ९ सय ६९ मत ल्याई विजयी हुँदा सरदार थारुले ५ हजार ३३३ मत मात्र प्राप्त गरे।

जबकि, ३१ महिनाअघि भएको चुनावमा सो पालिकामा कांग्रेस उम्मेदवार ७ हजार ६ सय ५ मत ल्याइ विजयी भएको थियो।

तर, उपचुनावमा कांग्रेसको २२७२ मत घटेको छ। 

इखले अध्यक्ष बनेका माझी 
कांग्रेसबाट ग्रामथानमा निर्वाचित जयप्रकाश गच्छदार थारुको मृत्यु भएपछि सो पालिकाको अध्यक्ष पद रिक्त थियो।

निर्वाचन आयोगले उपचुनावको तयारी गरिरहेको थियो। मंसिरतिर उपचुनाव गर्ने तयारी गरेको माझीले सूचना पाए।

दोहोरिएर वडाध्यक्ष बन्छु भन्दा कांग्रेसले टिकट नदिएपछि रुष्ट बनेका उनी भदौतिर माओवादीको सम्पर्कमा पुगेको केन्द्रीय सदस्य एवं कोसी प्रदेश सभा सदस्य इन्द्र आङ्बोले बताए।

‘कांग्रेसले टिकट नदिएपछि उहाँले हाम्रो पार्टीमा सम्पर्क बढाउनुभएको थियो,’ आङ्बोले भने, ‘हाम्रा माननीय अमनलाल मोदी र मोरङ जिल्ला अध्यक्ष विजय विश्वाससँग पार्टी प्रवेश गर्छु भनेपछि अध्यक्ष प्रचण्डजी पूर्व आएकै बेला एउटा कार्यक्रम राखेर भित्र्यायौँ।’

ग्रामथानकै स्थानीय विजयका आफन्त पर्छन् माझी। 

प्रधानमन्त्रीबाट बाहिरिएपछि पूर्वको भ्रमणमा निस्किएका प्रचण्ड माझीलाई उचित अवसर दिने प्रतिबद्धता जनाएर फर्किएका थिए।

उपचुनावको तयारी भइरहँदा माओवादी केन्द्रले असोजमै  माझीलाई ग्रामथानको उम्मेदवार बनाउने निर्णय गर्‍यो।

त्यसपछि चुनावको मिति घोषणा नहुँदै ग्रामथानमा खटिए सांसद अमनलाल मोदी र जिल्ला अध्यक्ष विजय विश्वास। 

उनीहरूको मेहनत सफल भएको छ। लामो समयदेखि कांग्रेसको विरासत भत्काएर माओवादीले पहिलोपटक ग्रामथान अध्यक्ष जितेको छ।

सांसद मोदीले पनि जनताको साथमै रहँदा चुनाव जित्न सम्भव भएको बताए।

‘मेरो आफ्नै निर्वाचन क्षेत्र हो, यहाँका जनताका हरेक सुखदुःखमा म सधैँ साथमा छु,’ मोदीले नेपालखबरसँग भने, ‘यो पालिकामा मैले केहीसमय यता होमवर्क गरिरहेको थिएँ।’ 

माओवादीका नेताहरू माझीले जित्नुका केही आधार रहेको बताए।

पहिलो, मोदीको प्रयास। मोदीको निर्वाचन क्षेत्रमै पर्छ, ग्रामथान। आफूले विकास निर्माणको काममा तीव्रता दिएको बताउँछन्।

‘यो क्षेत्रमा माओवादी एकढिक्का छ,’ मोदी भन्छन्, ‘प्रचण्ड नेतृत्वको सरकारले गरेका कामले जनताको चाहना यसपटक माओवादीप्रति नै छ, यहाँ पनि मैले राम्रै काम गरिरहेको छु, माझीजी पनि काम गर्न सक्ने, अनुभवी हुनुहुन्छ,’ चुनाव जित्नुको कारण खुलाउँदै मोदीले भने।

उनले दुई महिना आफू यही पालिकामा बसेको र प्रत्येक मतदाताको घरमा दुईपटक पुगेको बताए।

दोस्रो, थारु जनमत। ग्रामथानमा थारुहरूको पूजा गर्ने ठाउँ धेरै छ। सो पालिकामा बहुसंख्यक थारु समुदाय छन्। जनता आवास कार्यक्रमका लागि पर्याप्त बजेट पारेपछि थारुको मन  जितेका अमनलाल मोदीले यो चुनावमा उनै समुदायलाई विश्वासमा लिए। 

‘त्यहाँ रहेको समुदाय बिच्किन नदिन निकै सावधानीपूर्वक काम भएको छ,’ माओवादी नेता आङ्बो भन्छन्, ‘जनप्रतिनिधिले काम गरेपछि उसकै पक्षमा मतदाता लाग्छन् भन्ने कुरा ग्रामथानले पुष्टि गर्‍यो।’

तेस्रो, कांग्रेस–एमाले मत माओवादीमा डोलिनु। अघिल्लो चुनावमा तेस्रो स्थानमा रहेको माओवादीलाई पालिका अध्यक्ष जित्छ भन्दा पत्याउने कुरै थिएन। त्यसमा पनि जम्मा २७ सय मतबाट झण्डै ७ हजार मत ल्याउनु कठिन थियो।

पहाडबाट तराई झरेर ग्रामथान बसेका मानिसमा माओवादीले विशेष ध्यान दियो।

‘कांग्रेस–एमालेलाई मत दिइरहेका उनीहरूले यसपटक विद्रोह गर्नुभएको छ,’ माझीको जितबारे अर्का नेताले भने, ‘१९ सय मत एमाले र २३ सय मत कांग्रेसबाट खोसेपछि जित सहज भयो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad