राजनीति


‘प्रचण्डले हप्तैपिच्छे प्रधानमन्त्री अफर गर्छन्’ भन्ने गगनको दाबीप्रति वर्षमानको आपत्ति

‘प्रचण्डले हप्तैपिच्छे प्रधानमन्त्री अफर गर्छन्’ भन्ने गगनको दाबीप्रति वर्षमानको आपत्ति

फाइल फोटो


नेपालखबर
मंसिर १४, २०८१ शुक्रबार २०:१२, काठमाडौँ

नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने कांग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन्।

गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए। उनले आफूहरुको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन कांग्रेस–एमाले गठबन्धनलाई आग्रह गरे।

कांग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो।

‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने, ‘आफूहरुको गठबन्धन लामो समय नजाने देखेपछि कांग्रेस–एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन्। गगनजीले केपी ओलीसँग बार्गेनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ।’

आफूहरू कम्तिमा प्रतिनिधिसभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर कांग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध जनतालाई सचेत र जागरुक बनाउने काममा लाग्ने उनको भनाइ थियो।

‘हामीलाई अहिले सरकारतिर हेर्नुछैन। भ्रष्टाचार र विकृतिको जगमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने दिन आउँछ’, पुनले भने, ‘सुशासनको अभियानविरुद्ध भ्रष्टहरू जोगाउने स्वार्थले बनेको सरकार आफैं कुहिएर झर्छ।’

उनले आफूहरु प्रतिपक्षमा बसेर सकरारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशीता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरुद्धमा जनतालाई संगठित, जागरुक र आन्दोलित बनाउने बताए।

कीर्तिपुरमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad