राजनीति


चुनावले गर्माएको कीर्तिपुरलाई बिहानै फन्को लगाउँदा

चुनावले गर्माएको कीर्तिपुरलाई बिहानै फन्को लगाउँदा

तस्बिर : सरोज नेपाल


विपेन्द्र घिमिरे
मंसिर १३, २०८१ बिहिबार १५:३८, काठमाडौँ

मंसिर १६ गते देशैभरका स्थानीय तहको रिक्त पदमा उपचुनाव हुँदै छ। १६ गते बिहान ७ बजे सुरु हुने मतदानका लागि आज (१३ मंसिर) नै प्रचारप्रसारको लागि अन्तिम दिन हो।

चुनावी प्रचारको यस अन्तिम घडीमा विभिन्न दल, तिनका उम्मेदवार, नेता-कार्यकर्ता तथा शुभेच्छुक र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मत पार्नका लागि निकै प्रयासरत देखिन्छन्।

देशैभर रिक्त रहेका स्थानीय तहका ४४ पदमध्ये ३ निर्विरोध भइसकेका छन्। अब ४१ पदका लागि प्रतिस्पर्धा हुनेछ।

काठमाडौँ उपत्यकामा कीर्तिपुर नगरपालिका र काठमाडौँ महानगरपालिकाको १६ नम्बर वडामा उपचुनाव हुँदै छ।

उपत्यकाका यी दुई चुनावमध्ये कीर्तिपुरको चुनावले धेरैको ध्यान खिचेको छ। किनकि, यहाँ दुई वटा वडाका वडाध्यक्ष र मेयरका लागि प्रतिस्पर्धा हुँदैछ। यसअघिको चुनावमा नेपाली कांग्रेसबाट मेयर जितेका राजकुमार नकर्मीको निधन भएपछि यहाँ मेयरका लागि चुनाव हुन लागेको हो।

यस्तै, यस पालिकाका अन्य दुई वडा १ र ४ मा पनि वडाध्यक्षको चुनाव हुँदैछ। यी दुई वडामा पनि वडाध्यक्षको निधन भएको थियो। कीर्तिपुरमा २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसले मेयरसहित १० मध्ये ९ वडामा विजय हासिल गरेको थियो भने वडा नं. ४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए। यस वडामा एक सदस्य कांग्रेस र अरू सबै स्वतन्त्र उम्मेदवारले जितेका थिए।

चुनावी माहोलले गर्माएको कीर्तिपुरलाई अवलोकन गर्ने ध्येयले नेपालखबर टिम आज बिहान त्यहाँ एक चक्कर लगाउन पुगेको थियो।

हामी त्यहाँ पुग्दा नेपालको झन्डा बोकेका स्वतन्त्र पक्षधर नेता-कार्यकर्तादेखि दलीय झन्डा बोकेका समूहले सडक भरिएका देखिन्थे। हामीले सुरुमा कीर्तिपुर रिङरोडलाई एक फन्को मार्ने मनसाय बनायौँ।
 
कीर्तिपुरको नयाँबजारस्थित मुख्य सडक दिउँसो हुने दलीय कार्यक्रमका लागि ‘अकुपाइड’ भइसकेका थिए। कीर्तिपुर गेटमा नेपाली कांग्रेस, पांगा दोबाटोमा नेकपा (एमाले) र नगाउँ दोबाटोमा नेकपा (माओवादी केन्द्र) को दिउँसो हुने आमसभाका लागि स्टेज तयारीको काम हुँदैथियो। यद्यपि कांग्रेसको कार्यक्रम भने पछि त्यहाँबाट लोकतान्त्रिक चोकमा सारियो।

रिङरोडलाई चक्कर लगाएपछि हामी वडा नं. ४ तिर लाग्यौँ। नगाउँबाट छिरेर भत्केपाटी हुँदै मच्छेगाउँ उक्लँदै गर्दा बाटोमा स्वतन्त्र पक्षधरहरू भेटिए।

हामी अघि बढ्दै गयौँ। मच्छेगाउँ बसपार्क पुग्नै लाग्दा नेकपा (एमाले) को र्‍याली देखियो। सूर्य चिन्ह अंकित झन्डा बोकेका एक हुल मानिस बाजागाजासहित तलतिर झर्दै थिए। यहाँ नेकपा (एमाले)बाट बद्री बुढाथोकीले उम्मेदवारी दिएका छन्।

हामी अझै माथि उक्लियौँ। बसपार्कलाई देब्रे पारेर लागेपछि अर्को र्‍याली देखियो। टाढैबाट चारतारे झन्डा र रुख चिन्ह अंकित झन्डा देखिन्थे। हामी त्यतैतर्फ लम्कियौँ। हामी पुग्दा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र बानियाँ आफूले चुनाव जितेमा वडामा गर्ने कामको फेहरिस्त सुनाइरहेका थिए।

हामीले २/४ स्न्याप लियौँ। यसपछि बोल्ने पालो कांग्रेसकै तर्फबाट मेयरका उम्मेदवार कृष्णमान डंगोलको रहेछ। उनको सम्बोधन कुरेर केही तस्बिर लिएपछि त्यहाँबाट हिँड्ने हाम्रो योजना बन्यो।

अब भने हाम्रो फर्कने योजना बन्यो। अघिकै बाटो फर्कँदै गर्दा बाटोमा नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह राखिएको गाडी माथि उक्लँदै थियो। भत्केपाटीबाट अगाडि बढ्दै गर्दा नेपालको झन्डा र बाकस चुनाव चिन्ह बोकेका एक हुल मानिस बाजागाजा र नाचगानसहित यतैतर्फ अगाडि बढिरहेका थिए।

यो दृश्यलाई कैद गर्न हामीले पनि बाइक साइड लगाएर क्यामेरा तेर्स्यायौँ। उसो त भीडबाट बाटो छिचोल्नु पनि उस्तै हम्मे थियो। मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कविकुमार महर्जनले बाकस चुनाव चिन्ह पाएका छन्।

चुनावी प्रचारलाई पछ्याउँदै हिँड्दा मौका मिलेसम्म हामी भलाकुसारी पनि गर्न खोज्थ्यौँ। यस क्रममा अप्रत्याशित र ताजुबलाग्दा कुरा भेटिए। एक सहभागीले हामीलाई प्रचारमा स्थानीय मात्र नभई यस क्षेत्रभन्दा बाहिरका मान्छे पनि आएको बताए। राप्रपाको चुनावी प्रचारमा भेटिएका काभ्रेका एक सहभागीले भने, ‘हाम्रो कार्यक्रममा काठमाडौँ आसपासका पनि आउनुभएको छ।’

हामी जुन माहौल कैद गर्दै हिँडेका थियौँ उनको कुराले हामीलाई केही असजिलो महसुस गरायो। ‘यस्तो किन?’ हामीले उनलाई जिज्ञासा तेर्स्यायौँ।

‘जुनसुकै दल होस्, ठूलो होस् वा सानो अथवा स्वतन्त्र किन नहोस् उनीहरूको जुलुसमा पनि धेरै नेता-कार्यकर्ता यस क्षेत्रभन्दा बाहिरका छन्,’ उनको ठोकुवा थियो। प्रचार प्रसारमा स्थानीयको सहभागिता कम हुनुले दलहरू यसो गर्न बाध्य भएको उनको भनाइ थियो।

यसपछि हामीले ढल्पा घर बताउने महर्जन थरका स्थानीयसँग केही जिज्ञासा राख्यौँ। ठूला दल र स्वतन्त्र उम्मेदवारबीच कडा टक्कर पर्ने देखेका उनी आफू अझै पनि अनिर्णीत रहेको बताउँदै थिए।

यसपछि भने हामी कार्यालयतर्फ मोडियौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad