आचारसंहिता उल्लघङ्नको सूचना आएपछि निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ र कीर्तिपुर नगरपालिकामा अनुगमन टोली खटाएको छ।
यी दुवै ठाउँमा यही मंसिर १६ मा उपचुनाव हुँदै छ। आयोगले यी दुई ठाउँमा अनुगमनका लागि छुट्टाछुट्टै टोली खटाएको हो।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा खटिएको टोलीमा सहसचिव नारायण प्रसाद सापकोटा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदी, कानून उपसचिव सीता पुन र प्रहरी उपरीक्षक सञ्जयसिंह थापा रहेका छन्।
आयोगका अनुसार कीर्तिपुर नगरपालिकामा खटिने टोलीमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मी, उपसचिव डा. थानेश्वर भुषाल, उपन्यायाधिवक्ता केदारकुमार अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक अशोक न्यौपाने रहेका छन्।
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत मंसिर दुई गतेदेखि उपनिर्वाचन हुने जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागू भएको छ ।
आयोगको बुधबारको निर्णय अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन गरेको पाईएमा निर्वाचन (कसुर तथा सजायँ) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकार सहितको टोली खटाईएको पनि निर्वाचान आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सूक्ष्म अनुगमन भइरहेको छ।
Shares

प्रतिक्रिया