प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सीटीईभीटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन्।
सोमबार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन्। उनले आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सीटीईभीटीको श्रीवृद्धिमा लाग्न आग्रह गरे।
उनले सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए। उनले सरोकारवाला पक्षसँग बसेर सीटीईभीटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औंल्याए।
देशभरका आम युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पुर्याउन सातवटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए। सीटीईभीटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए।
उनले भने, ‘यस्तो संस्थामा ताला लगाएर कामकाज ठप्प पार्ने काम कदापि सह्य हुँदैन। आजबाटै कसैका सीटीईभीटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्नैपर्छ। समिति बनाएर आवश्यकताका आधारमा औचित्य पुष्टि हुनेगरी समस्या समाधान गर्ने हामी सबैको दायित्व हो। आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबै साथीहरुले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न हार्दिक अनुराधे गर्दछु।’
उनले सीटीईभीटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरुलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरु समाधान गर्न लागि पर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया