सभामुख देवराज घिमिरे आज (शुक्रबार) साँझ कम्बोडिया जाँदैछन्।
‘इन्टरनेसनल पार्लियामेन्ट फर टोलेरेन्स एन्ड पिस (आईपीटीपी) को ११ औँ पूर्ण सत्र (प्लेनरी सेसन) मा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गर्न लागेका संघीय संसद सचिवालयले जनाएको छ।
यही मंसिर ८ देखि ११ (२३–२६ नोभेम्बर २०२४) सम्म कम्बोडियाको राजधानी नोह्न पेनमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन सभामुख घिमिरे शुक्रबार २१ः४५ बजे थाइ एयरवेजको उडानबाट त्यसतर्फ प्रस्थान गर्दैछन्।
सभामुखसँग प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य ईश्वर बहादुर रिजाल, सभामुखको प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद सचिवालयका उपसचिव गोपाल सिग्देल समावेश हुनेछन् भने प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल प्रतिनिधिमण्डलमा कम्बोडियामा सामेल हुनेछन्।
‘ए क्विस्ट फर पिस, रिकाउन्सिलिएसन एन्ड टोलिरेन्स’ विषयक उक्त कार्यक्रम अन्तर्गत सभामुख घिमिरेले ‘एड्भान्सिङ द ग्लोबल आर्किटेक्चर अफ पिस, पिसबुइल्डिङ, रिकाउन्सिलिएसन एन्ड टोलिरेन्सः सिनर्जी अफ गभर्नमेन्ट, पार्लियामेन्ट एन्ड सिभिल सोसाइटी’ विषयमा मन्तव्य प्रस्तुत गर्नेछन्।
भ्रमणको अवसरमा सभामुखले कम्बोडिया, संयुक्त अरब इमिरेट्स, मलेसिया, भियतनाम र लाओसका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नेकार्यक्रम समेत रहेको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
कार्यक्रममा सहभागी भई प्रतिनिधिमण्डल २६ नोभेम्बर २०२४ (२०८१ मंसिर ११ गते) मंगलबार नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।
Shares

प्रतिक्रिया