पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालका सरकारहरू ‘चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) विरोधी कुप्रचारको शिकार भएको’ टिप्पणी गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै खनालले भनेका छन्, ‘नेपालले पनि २०१७ मा नै बीआरआई सम्झौता गरेको थियो। अहिले ७ वर्ष बितिसकेको छ। तर नेपालका एक पछि अर्का सरकारहरु पश्चिमा शक्तिहरुको चीन विरोधी कुप्रचारको शिकार भएर बीआरआई सहयोगलाई ‘‘ऋण पासो’’ का रुपमा व्याख्या गर्दै नेपाल र नेपालीको भाग्य माथि खेलवाड गरिरहेका छन्।’
यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण हुँदा त्यस्ता भ्रमहरूलाई तोड्दै नेपालको राष्ट्रिय हित अनुकुल हुने सम्झौता गर्ने विश्वास जनताले गरेको खनालको भनाइ छ।
बीआरआईबारे सत्तारुढ दुई दलबीचमै विवाद हुनु विडम्वना भएको भन्दै खनालको प्रश्न छ,‘त्यही बीआरआई विश्वका १५३ देशहरुका लागि हितकर हुने तर नेपालको निम्ति “ऋण पासो” कसरी हुन्छ ? यो कहाँको स्टान्डर हो ? सत्तारुढ दलहरु नेपाली बुद्धिले चल्छन कि पश्चिमाहरुको निर्देशनमा चल्छन?’

Shares

प्रतिक्रिया