प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरू प्रेरित भइरहने बताएका छन्।
सोमबार काठमाडौँको नयाँ गौचरनमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा प्रधानमन्त्री ओलीले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रूपमा पनि चित्रण गरे।
जनप्रतिनिधिहरूको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान गरेको स्मरण पनि गरे।
प्रधानमन्त्री ओलीले भने, 'संसदलाई जीवन्त र बलियो कसरी बनाउने? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरूको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो। त्यही सोचले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान रहेको छ। उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो। हामी उहाँका आर्दशहरूबाट प्रेरित रहनेछौँ। उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन्छौँ। उहाँलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाइ गर्छौँ। '
Shares

प्रतिक्रिया